लेस्टरमाथि चेल्सीको जीत, ‘एफए’ कपको बदला पूरा

काठमाडौं।  इंग्लिश प्रिमियर लिग अन्तर्गत आज बिहान सम्पन्न खेलमा चेल्सीले लेस्टर सिटीलाई २-१ गोलले पराजित गरेको छ।

आफ्नो घरेलु मैदान ‘स्ट्यामफोर्ड ब्रिज’मा लेस्टरमाथि सुन्दर जित निकाल्दै चेल्सी अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।

‘टप ४’ को दौडमा रहेका यी दुई टोलीले पहिलो हाफमा गोल रहित बराबरी खेलेका थिए। ३४औं मिनेटमा चेल्सीका स्ट्राइकर टीमो वर्नरले गरेको गोल ‘भी.ए.आर’ले खारेज गर्दा पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो।

दोस्रो हाफको कहानी अर्कै रह्यो। ४७औं मिनेटमा चेल्सीका डिफेन्डर एन्टनियो रुडिगरले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। त्यसपछि ६६औं मिनेटमा चेल्सीलाई पेनाल्टी प्रदान गरियो। लेस्टरका डिफेन्डर फोफानाले वर्नरलाई पेनाल्टी बक्स भित्र फाउल गर्दा चेल्सीलाई पेनाल्टी प्रदान गरिएको थियो। उक्त पेनाल्टीलाई मिडफिल्डर जोर्जिनोले गोलमा परिणत गर्दै चेल्सीको अग्रतालाई दोब्बर बनाएका थिए।

खेलको ७६औं मिनेटमा लेस्टरले गोल फर्कायो। स्ट्राइकर केलेची इहेनाचोको गोलमार्फत लेस्टरले खेलमा फर्किने प्रयास गरेपनि त्यो पूरा हुन भने सकेन। यस जितसँगै चेल्सीले अर्को सिजनको च्याम्पियन्स लिग फुटबलको लागि आफ्नो स्थान बलियो बनाएको छ। त्यस्तै गत साताको ‘एफए’ कप फाइनलमा लेस्टरसँग भोगेको पराजयको बदला पनि चेल्सीले लिएको छ।

३७ खेलमा ६७ अंकसहित चेल्सी तेस्रो स्थानमा उक्लिएको छ। उता ३७ खेलमा ६६ अंकसहित लेस्टर चौथौं स्थानमा झरेको छ। लेस्टरलाई पछ्याउँदै गरेको लिभरपुल एक खेल खेल्न बाँकि रहँदा ६३ अंकसहित अंक तालिकाको पाँचौं स्थानमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?