इंग्लिश प्रिमियर लिग : लिभरपुललाई ठूलो परीक्षा, ‘टप ४’ आफ्नै हातमा

काठमाडौं।  इंग्लिश प्रिमियर लिग अन्तर्गत आज राति लिभरपुल र बर्नली प्रतिस्पर्धा गर्दै छन्।

बर्नलीको घरेलु मैदान ‘टर्फ मुर’मा नेपाली समय अनुसार राति १:०० बजे खेलिने खेल लिभरपुलको लागि एकदमै महत्वपूर्ण रहेको छ। ‘टर्फ मुर’मा लिभरपुललाई पछिल्ला ६ खेलमध्ये ५ मा जित हासिल भएको छ। तर लिभरपुलको टोलीलाई बर्नली भ्रमण कहिल्यै पनि सहज भने भएको छैन।

बर्नलीले लिभरपुललाई पस्किने चुनौतीसँग लिभरपुलका प्रशिक्षक योर्गेन क्लोप परिचित छन्। ‘म्यान टू म्यान मारकिङ, लङ बल, हाई इन्टेन्सीटी, अल म्यान डिफेन्डिङ’ बर्नलीका अस्त्र हुन्। त्यसमाथि ३,५०० घरेलु समर्थकमाझ लिभरपुललाई आजको खेल ठूलो अग्नि परीक्षा हो।

अर्को वर्ष च्याम्पियन्स लिग फुटबल खेल्न लिभरपुललाई आफ्नो बाँकि २ खेलमा जित अपरिहार्य छ। पछिल्ला ३ खेलमा जितको नतिजा निकालेको लिभरपुलको टोली आजको खेलमा पनि सोही मनस्थितिका साथ मैदान प्रवेश गर्नेछ।

बर्नलीका गोलरक्षक निक पोप आजको खेलमा खेल्ने नखेल्ने बारे भने अझै टुङ्गो लागेको छैन। पोपले लिभरपुलविरुद्ध पछिल्ला दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए। उनको अनुपस्थिति लिभरपुलको लागि ठूलो राहतको विषय हुनेछ।

‘टप ४’ को दौडले तिब्र गति लिइरहेको बेला लिभरपुल ‘गर या मर’को स्थितिमा आएको छ। गए राति भएको खेलमा चेल्सीले लेस्टर सिटीलाई पराजित गर्दा लिभरपुललाई यस खेलबाट चौथौं स्थानमा उक्लिने ठूलो मौका मिलेको छ।

३६ खेलमा ६३ अंकसहित लिभरपुल अंक तालिकाको पाँचौं स्थानमा रहेको छ। त्यस्तै ३७ खेलमा ६७ र ६६ अंकसहित लेस्टर र चेल्सी क्रमशः तेस्रो र चौथौ स्थानमा रहेका छन्। लिभरपुलले आजको खेलमा जित निकालेको खण्डमा लेस्टरसँग अंक बराबरी गर्नेछ भने ‘गोल डिफरेन्स’को आधारमा चौथौं स्थानमा पनि उक्लिने छ।

त्यस्तै अन्य खेलमा आज राति नेपाली समय अनुसार १०:४५ बजे एभर्टनविरुद्ध वुल्भ्स र टोटनह्यामविरुद्ध एस्टन भिल्लाको खेल खेलिदैं छन्। त्यस्तै राति ११:४५ बजे क्रिस्टल प्यालेसविरुद्ध आर्सनल र राति १:०० बजे वेस्ट ब्रमविरुद्ध वेस्ट ह्याम प्रतिस्पर्धा गर्दै छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?