यस कारण बस्न सकेन एमाले कार्यदलको बैठक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र देखिएको विवाद समाधान लागि गठित कार्यदलको बैठक स्थगित भएको छ ।

कार्यदलको दोस्रो बैठक आज साँझ ७ बस्ने भनिएको थियो । तर बैठक लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका कार्यदल सदस्य शंकर पोखरेल अनुपस्थित हुने भएपछि बैठक स्थगित गरिएको कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले लोकपथलाई जानकारी दिए ।

त्यस्तै अर्को बैठकको मिति तय नभएको र छिटै नै मिति तय गरि वार्ताको माध्यमबाट समाधान खोजिने बताएका छन् ।

‘कार्यदलका सदस्य शंकर पोखरेल अनुपस्थित हुने भएपछि आजको बैठक स्थगित गरिएको हो । छिटै नै पार्टी विवाद समाधानतिर लैजानुपर्ने भएकाले अर्को बैठक छिटै बोलाइनेछ ।’ उनले भने ।

एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको आन्तरिक द्न्द्ध उच्च भएपछि विवाद समाधानका लागि १० जनाको कार्यदल बनाइएको छ । जसमा नेता सुवास नेम्वाङको संयोजकत्वमा ओली पक्षका ५ जना र भीम रावलको संयोजकत्वमा नेपाल पक्षका ५ जना रहेका छन् । जेठ २ गते गठन गरिएको कार्यदलको पहिलो बैठक मंगलवार बसेको थियो । मंगलवारको बैठकले पार्टीभित्रको विवाद थप चर्काउने किसिमको अभिव्यक्ति कुनै पनि पक्षले नगर्ने सहमती भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?