काठमाडौं– नेपाल राष्ट्र बैंकले यसपाली पनि कोरोना पीडितहरुको घाउमा मल्हम लगाउने प्रयास गरेको छ ।
राष्ट्र बैंकले मंगलवार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै यस्तो प्रयास गरेको हो । राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दै लिक्विड अक्सिजन प्लान्ट र अक्सिजन प्लान्ट स्थापना गर्ने उद्योगले आधार दरमै ऋण पाउने व्यवस्था गरेको छ ।
अहिले बैंकहरुको आधार दर ७ प्रतिशतको हाराहारी छ । राष्ट्र बैंकले सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लान्ट स्थापना गर्न ५० करोडसम्म तथा अक्सिजन प्लान्ट स्थापना गर्न २० करोड रुपैयाँसम्मको कर्जालाई एक वर्षको विशेष पुनर्कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ । यस्तो पुनर्कर्जाको ब्याजदर १ प्रतिशत रहेको छ । त्यसैगरी, राष्ट्र बैंकले निषेधाज्ञा रहेको अवधिभर बैंक तथा वित्तीय संस्थाले कुनै पनि ग्राहकबाट कर्जा असुलीमा जरीवाना वा अतिरिक्त शुल्क लिन पाउने छैनन् ।
त्यस्तै, निषेधाज्ञा सकिएको एक महिनासम्म बैंक तथा वित्तीय संस्थाहरुले कर्जा उठाउने र लिलामीको सूचना निकाल्न नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
त्यस्तै,राष्ट्र बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व (सीएसआर) कोषको रकम जीवन रक्षा, सार्वजनिक हित तथा परोपकारी कार्यलाई प्राथमिकता दिने गरी देशभर उपलब्ध गराउने व्यवस्था गरेको छ । बैंक तथा वित्तीय संस्थाले गत वर्षको नाफाको १ प्रतिशत सीएसआरमा छुट्याउनु पर्ने व्यवस्था छ । राष्ट्र बैंकका अनुसार सो रकम अक्सिजन सिलिण्डर, जीवन रक्षक भ्याक्सिन तथा औषधीमा खर्च गर्ने व्यवस्था गरिनेछ । त्यस्तै, राष्ट्र बैंकले आविस्कार केन्द्र तथा मानव सेवा लगायतका परोपकारी कार्यमा गरेको खर्च समेत सीएसआर कोषबाट हुने खर्चमा गणना गर्न सकिने व्यवस्था गरेको छ । निषेधाज्ञा अवधिभर म्याद समाप्त भएका मुद्दती निक्षेपको नवीकरण, जमानत तथा प्रतितपत्रको नवीकरण तथा कर्जाको नवीकरण सम्बन्धित ग्राहकको अनुरोधमा हुने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ ।
कोरोना संक्रमणका कारण गरिएको निषेधाज्ञाका कारण अनुमानित ४ प्रतिशतको आर्थिक वृद्धि हासिल चुनौतीपूर्ण हुने राष्ट्र बैंकले जनाएको छ । कोरोनाका कारण गत वर्ष त्यति प्रभावित नभएको बैंकिङ्ग क्षेत्र कोरोनाको दोस्रो लहरका कारण प्रभावित हुने राष्ट्र बैंकको आँकलन छ । कोरोना संक्रमण न्यूनिकरण गर्न सरकारले गरेको निषेधाज्ञाका कारण आर्थिक गतिविधिहरु पुनः ठप्प भएका कारण बैंकिङ्ग क्षेत्र प्रभावित हुनसक्ने राष्ट्र बैंकको अनुमान रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया