सुनाकोठी र बागडोल आइसोलेशन सेन्टरलाई सहयोग हस्तान्तरण

काठमाडौं । कोरोना कहरले आक्रान्त स्थानीय समुदायलाई सहयोग गर्ने उद्देश्यले ललितपुर महानगरपालिकाले निर्माण गरेको आइसोलशन सेन्टरमा लायन्स क्लब अफ हिमालयाज र पाटनले सहयोग गरेका छन् । महानगरपालिकाको बागडोलस्थित ज्यापु भवनमा स्थापित ११० शय्या र सुनाकोठीमा रहेको ६० शय्याको सेन्टरका लागि आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

लायन्स क्लबका अध्यक्ष प्रदीप अमात्यले महानगरका नगर प्रमुख चिरीबाबु महर्जनलाई आज स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै क्लबले कोभिड –१९ को महामारीमा स्थानीय सरकारसँग सहकार्य गरेको जानकारी गराए ।

लायन्स क्लब अफ पाटन ऊर्जाले पनि सुनाकोठीस्थित ६० शय्याको आइसोलेशन सेन्टरका लागि स्वास्थ्य सामग्री महानगरपालिकाका प्रमुखलाई हस्तान्तरण गरेको थियो । क्लबका तर्फबाट लायन मणिरत्न शाक्यले ५० हजार रुपैयाँको सामान उपलब्ध गराएको लायन सञ्जयनाथ जोशीले जानकारी दिए ।

महानगरपालिकाका प्रमुख महर्जनले महानगरपालिकामा पृथक अवधारणासहित सञ्चालनमा ल्याइएको आइसोलेशन सेन्टरमा प्राप्त सहयोगले स्थानीय सरकारलाई प्रेरणा मिलेको बताए । महानगरपालिकाले सुनाकोठीस्थित पोषण केन्द्रमा सञ्चालन गरेको ६० शय्याको आइसोलेशन सेन्टरमा ४४ र ज्यापु भवनमा ११० शय्याको आइसोलेशन सेन्टरमा ३४ जना उपचाररत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?