काठमाडौं। इंग्लिश प्रिमियर लिग अन्तर्गत गए राति भएको खेलमा लिभरपुलले बर्नलीलाई ३-० गोल अन्तरले पराजित गरेको छ।
बर्नलीको घरेलु मैदान ‘टर्फ मुर’मा ३,५०० घरेलु दर्शकसामु भएको खेलमा लिभरपुलले अधिकतम समय बलमा हैकम जमाएको थियो। पहिलो हाफको ४३औं मिनेटमा रोबर्टो फरमिनोको गोलबाट लिभरपुललाई अग्रता मिलेको थियो। रोबर्टसनको उत्कृष्ट पासमा स्ट्राइकर फरमिनोले गोल गर्दा पहिलो हाफ पाहुना टोलीको पक्षमा गएको थियो।
दोस्रो हाफमा लिभरपुलले अर्को २ गोल थप्यो। ५२औं मिनेटमा साडियो मानेको क्रसमा डिफेन्डर न्याट फिलिपले हेडर गोल गर्दा लिभरपुलले अग्रता दोब्बर बनायो। फिलिपको यो पहिलो प्रिमियर लिग गोल हो।
खेलको ८८औं मिनेटमा मिडफिल्डर अक्सलेड च्याम्बरलेनले लिभरपुलको लागि ‘सुनमा सुगन्ध’ छर्ने काम गरे। उनले रोबर्टसनको पासलाई सरल तर सुन्दर तरिकाले गोलमा परिणत गर्दा लिभरपुलले ३-० को शानदार जित हात पार्यो।
यस जितसँगै लिभरपुल अंक तालिकाको चौथौं स्थानमा उक्लिएको छ। ३७ खेलमा ६६ अंकका साथ लिभरपुलले लेस्टर सिटीसँग अंक बराबरी गरेको छ। तर ‘गोल डिफरेन्स’को आधारमा लेस्टरलाई उछिन्दै लिभरपुल चौथौं स्थानमा उक्लिएको हो। निकै नै रोमाञ्चक मोडमा रहेको ‘टप ४’ को दौड अन्तिम चरणको खेलहरुले नै तय गर्ने भएको छ।
त्यस्तै गए राति खेलिएका अन्य खेलमा एस्टन भिल्लाले टोटनह्यामलाई २-१ गोलले पराजित गरेको छ। त्यस्तै आर्सनलले क्रिस्टल प्यालेसमाथि ३-१ को जित प्राप्त गरेको छ भने वेस्ट ह्यामले वेस्ट ब्रममाथि पनि ३-१ कै जित दर्ता गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया