काठमाडौं। कोपा अमेरिका २०२१ को आयोजक राष्ट्रको सूचीबाट कोलम्बियालाई हटाइएको छ।
अर्जेन्टिना र कोलम्बियामा हुने भनिएको २०२१ को कोपा अमेरिका अब कोलम्बियामा नखेलाउने निर्णय “कोनमेबोल”ले गरेको छ।
“कोनमेबोल”ले बिहीवार निकालेको विज्ञप्ति अनुसार कोलम्बियामा जारी ‘सिभिल अनरेष्ट’ र बढ्दो कोरोना महामारीका कारण कोलम्बियालाई सह-आयोजकको सूचीबाट निकालिएको हो।
कोलम्बियाले भने कोपा अमेरिकालाई तत्कालको लागि स्थगित गर्न अनुरोध गरेको थियो। यस प्रतियोगितालाई आउने नोभेम्बर महिनामा सञ्चालन गर्ने कोलम्बियाको अनुरोधलाई “कोनमेबोल”ले अस्वीकार गरेको छ।
गत साता कोलम्बिया पुलिस र विरोधीहरुबिच कोलम्बियाको ‘परेरा’ र ‘बरानक्वीला’मा ठूलो झडप भएको थियो। जसमा ‘बरानक्वीला’ले कोपा अमेरिका फाइनल आयोजना गर्ने कार्यक्रम रहेको थियो।
कोलम्बियामा १५ खेल खेलिने तालिका सार्वजनिक भइसकेको हुँदा जारी स्थितिमा सो गर्न अनुचित भएको भन्दै “कोनमेबोल”ले कोलम्बियालाई आयोजक राष्ट्रबाट निलम्बित गरेको हो।
कोलम्बियाको विकल्प कता हुने भन्ने कुराको छिनोफानो भने भइसकेको छैन। अर्जेन्टिनाले यसै साता सम्पूर्ण प्रतियोगिता आँफै आयोजना गर्न चाहेको कुरा पनि उल्लेख गरेको थियो। तर अर्जेन्टिनामा पनि बढ्दो कोरोना महामारीको कारण सो कुरा निश्चित भने भइसकेको छैन।
कोपा अमेरिकामा समूह ‘ए’ का खेलहरु अर्जेन्टिना र समूह ‘बी’ का खेलहरु कोलम्बियामा आयोजना हुने तालिका रहेको थियो। समूह ‘ए’ मा अर्जेन्टिना, बोलिभिया, चिले, पाराग्वे र उरुग्वे रहेका छन् भने समूह ‘बी’ मा कोलम्बिया, ब्राजिल, इक्वेडोर, पेरू र भेनेजुएला रहेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया