रामजी बलामी । काठमाडौं-
नेपालमा पछिल्लो समय कोरोना भाइरस (कोभिड १९) को संक्रमण घट्दै गएको तथ्यांकले देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको जेठ महिनाको तथ्यांक विश्लेषण गर्दा यस्तो पाइएको हो ।
जेठ महिनाको पछिल्लो ६ दिनमा एक लाख २५ हजार ४सय ३१ वटा पीसीआर तथा एन्टिजेन परिक्षण गरिएको छ । तीमध्ये ४९ हजार चार सय ६३ जना कोरोना पोजेटिभ फेला परेको छ । तीमध्ये ३९ हजार २ सय ९३ जना निको भएर घर फर्किएका छन् । यो भनेको निको हुने दर ७९ दशमलव ४४ प्रतिशत हो । यस अवधिमा १ हजार १ सय ७८ जनाले ज्यान गुमाएका छन् ।
परीक्षण कम भएकाले संक्रमितको संख्या घटेको देखिएको हो कि भन्ने आम जिज्ञासा छ । तर पछिल्लो ६ दिनको तथ्यांक विश्लेषणले भने फरक नतिजा देखनएको छ । परिक्षणको मात्रा, संक्रमितको संख्या र निको हुनेको तथ्यांक विश्लेषण गर्दा यस अवधिमा संक्रमितको संख्या घट्दो क्रममा रहेको देखिन्छ भने निको हुनेको संख्या बढ्दो दरमा रहेको देखिन्छ ।
कुन दिनको अवस्था कस्तो ?
जेठको पहिलो दिन १८ हजार ५ सय ४८ वटा परिक्षण गरिएकोमा ८ हजार १सय ६७ जनामा कोरोना पोजेटिभ देखियो । यो भनेको ४४ दशमलव ०३ प्रतिशत हो । यो दिन १ सय ८७ जनाले ज्यान गुमाएका थिए भने ५ हजार ४ सय ५५ जना निको भएका थिए । अर्थात् समग्रमा तथ्यांकमा निको हुने दर ७४ दशमलव ४ प्रतिशत थियो । पछिल्लो ६ दिनको तथ्यांक नियाल्दा यही दिन सबै भन्दा बढी संक्रमित भएको तथ्यांकले देखाउँछ ।
जेठ २ मा अघिल्लो दिन भन्दा बढी अर्थात् १९ हजार ८ सय ८३ वटा परिक्षण गरिएको थियो । तर अघिल्लो दिन भन्दा थोरै अर्थात् ७ हजार ३ सय ६८ जनामा मात्रै पोजेटिभ देखिएको थियो । यो दिन परिक्षण गरिएका मध्ये जम्मा ३७ प्रतिशतमा मात्रै संक्रमण देखियो । ६ हजार ६सय ४८ जना निको भएको त्यो दिनको निको दर अघिल्लो दिन भन्दा बढी अर्थात् ७४ दशमलव ७ प्रतिशत थियो ।
यस्तै जेठ ३ मा अलि बढी संक्रमित फेला परेको देखिन्छ । तर पनि जेठ १ को तुलनामा ३ प्रतिशत कम अर्थात् ४१ दशमलव ८७ प्रतिशतमा संक्रमण देखियो । यो दिन ९ हजार २ सय ४७ जनामा संक्रमण फेला परेको थियो भने ५ हजार ७ सय ६७ जना निको भएका थिए । सो दिन निको हुने दर जेठ २ को तुलनामा ० दशमलव ३ प्रतिशत घटेर जेठ १ कै विन्दूमा पुगेको देखिन्छ ।
त्यस्तै जेठ ४ को तथ्यांक नियाल्दा कोरोना संक्रमणको दर झन् घटेको देखिन्छ । उक्त दिन २० हजार ९सय ७९ वटा परिक्षण गरिएको थियो । जसमा ८ हजार २ सय ३ जनामा पोजेटिभ देखिएको थियो । यो भनेको जम्मा ३९ दशमलव १ प्रतिशत मात्रै हो । यो दिन जेठ १ को भन्दा ५ प्रतिशत भन्दा कम र अघिल्लो दिनको भन्दा २ प्रतिशत कम हो । यो दिनसम्म आइपुग्दा कोरोनाबाट निको हुने दर ७४ दशमलव ६ प्रतिशत पुगेको देखिन्छ । सो दिन मात्रै ६ हजार ८९१ जना कोरोनामुक्त भएका थिए ।
जेठ ५ मा आइपुग्दा कोरोना संक्रमणको दर अझ घटेको देखिन्छ । सो दिन परिक्षणको आधारमा संक्रमण दर अघिल्लो दिनको भन्दा झण्डै दुई प्रतिशत कम अर्थात् ३७ दशमलव ४१ प्रशितमा झरेको छ । जेठ १ को तथ्यांकसँग दाँज्ने हो भने झण्डै ७ प्रतिशतले संक्रमित घटेका छन् । जेठ १ मा १८ हजार ५सय ४८ जनामा परिक्षण गर्दा ४४ दशमलव ०३ प्रतिशतमा संक्रमण देखिएको थियो । तर यो दिन २१ हजार ८ सय ४७ जनामा परिक्षण गर्दा सम्मा ३७ दशमलव ४१ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको देखिन्छ ।
८ हजार १ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको जेठ ५ मा ७ हजार ९ सय ८९ जना निको भएका थिए । यो दिनसम्म आइपुग्दा निको हुने दर पनि बढेको छ । यो दिन अघिल्लो दिन भन्दा ० दशमलव ४ प्रतिशत र जेठ १ भन्दा झण्डै १ प्रतिशत बढेर ७५ प्रतिशत पुगेको तथ्यांकले देखाउँछ ।
यस्तै जेठ ६ को तथ्यांकले पनि सकारात्मक सन्देश दिएको छ । जेठ ६ गते यो महिनाकै सबैभन्दा धेरै अर्थात् २२ हजार ८७ वटा परिक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा ८ हजार ३ सय ५ जनामा कोरोना पोजेटिभ देखिएको छ । यो भनेको ३७ दशमलव ६ प्रतिशत हो । यो दिन ६ हजार ५सय ४३ जना निको भएसँगै निको हुनेको दर पनि ७५ दशमलव १ प्रतिशतमा पुगेको छ । यसदिन तीन दिन यताकै कम अर्थात् १ सय ९० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ६ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४ लाख ९७ हजार ५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १ सय ७७ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएसँगै कुल मृतकको संख्या ६ हजार २४ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ७ हजार ८ सय ९० जना कोरोना संक्रमण मुक्त भएसँगै कुल संक्रमणमुक्त हुनेको संख्या ३ लाख ७४ हजार ८ सय ३६ पुगेको मन्त्रालयले जनाएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १६ हजार १ सय ९२ पुगेको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ हजार ४ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १ हजार ७ सय ५२ जना, भक्तपुरमा २ सय ९५ र ललितपुरमा ४ सयमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै काठमाडौंमा हाल सक्रिय संक्रमिको संख्या २२ हजार १ सय ९३, भक्तपुरमा ४ हजार ८ सय ६४ र ललितपुरमा ६ हजार ८ सय ५३ जना रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया