बुन्डेस लिगा : आज अन्तिम चरणका खेल, विजेता बायर्नले उपाधि उचाल्ने

काठमाडौं।  जर्मन ‘बुन्डेस लिगा’मा आज (शनिवार) अन्तिम चरणका खेलहरु सञ्चालन हुनेछन्।

नेपाली समय अनुसार सबै क्लबका खेल साँझ ७:१५ बजे शुरु हुनेछन्। यस सिजनको बुन्डेस लिगा उपाधि साविक विजेता बायर्न म्युनिकले जितिसकेको छ।

अगस्वर्गसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्न गइरहेको बायर्नले आजको खेल पश्चात आफ्नो उपाधि उचाल्ने कार्यक्रम रहेको छ। आफ्नो लगातार ९औं उपाधि बायर्नले गत ‘मे ८’ तारीखमै जितेको थियो।

यसै गरी बुन्डेस लिगामा ‘शीर्ष ४’ टोली पनि निश्चित भइसकेका छन्। ३३ खेलमा ६५ अंकसहित आर.बी. लाइपजिगले दोस्रो स्थान पक्का गरिसकेको अवस्था छ भने समान खेलमा ६१ अंकका साथ बोरुसिया डर्टमन्ड र वोल्फ्सबर्ग क्रमशः तेस्रो र चौथौ स्थानमा रहेका छन्।

३३ खेलमा ७५ अंकका साथ बायर्न शीर्ष स्थानमा रहेको छ। यसैगरी बायर्नका वर्तमान प्रशिक्षक हान्सी फ्लिकको आज बायर्नमा अन्तिम दिन हो। यस सिजन पश्चात बायर्न छाड्ने निर्णय गरेका फ्लिकको स्थानमा लाइपजिगका प्रशिक्षक जुलियन नैंगल्सम्यान आउने पनि निश्चित भइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?