काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले घोषित मितिमा नै मध्यावधि निर्वाचनको तयारीमा जुट्न निर्वाचन आयोगलाई निर्देशन दिएका छन् ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोगका पदाधिकारीहरुसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले त्यस्तो निर्देशन दिएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले देशमा निर्वाचन अपरिहार्य भएकाले मुलुकलाई निर्वाचनतर्फ नै अघि बढाउने समेत स्पष्ट पारेका छन् ।
ओलीको सचिवालयले भनेको छ- ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीहरूलाई घोषित मितिमा निर्वाचनको तयारीमा जुट्न निर्देशन दिनुभएको छ । आज बिहान बालुवाटारमा भएको उक्त भेटमा उहाँले निर्वाचन अपरिहार्य भएकाले नै मुलुक यसरी निर्वाचनतर्फ नै अघि बढेको स्पष्ट गर्नुभयो ।’
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार मध्यराति संसद विघटनको सिफारिसलाई अनुमोदन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेकी छिन् ।
आगामी कार्तिक २६ र मंसिर ३ गतेका लागि तोकिएको निर्वाचन होला वा नहोला भन्ने विभिन्न अड्कलबाजी भइरहेका छन् । यसैबीच प्रधानमन्त्री ओलीेले ताजा जनादेशका लागि निर्वाचन घोषणा गरेको र त्यसलाई समयमा नै सम्पन्न गर्ने तयारीमा लाग्न निर्देशन दिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया