सभामुख सापकोटाद्वारा संसद विघटन असंवैधानिक रहेको भन्दै एकजुट हुन अपील

काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले मध्यरातमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको बताएका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै सभामुख सापकोटाले पुस ५ गते गरिएको संसद विघटनविरुद्ध ६७ दिनसम्म गरिएका संवैधानिक, कानुनी र राजनैतिक संघर्षको भावना र संसद ब्यूत्याउने सर्वोच्च अदालतको निर्णयको विपरित रहेको बताए ।

‘पछिल्लो विकसित राजनीतिक घटनाक्रम, मूलतः हिजो मध्यरातमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमप्रति गम्भीर ध्यानाकर्षण भएको छ । यो कदम २०७७ पुस ५ को प्रतिनिधि सभा विघटन विरुद्ध ६७ दिनसम्म गरिएको संवैधानिक, कानुनी र राजनैतिक संघर्षको भावना एवं सर्वोच्च अदालतको संवैधानिक इजलासको २०७७ फागुन ११ गतेको फैसलाको विपरीत देखिन्छ ।’ उनले भने ।

त्यस्तै फेरि एकपटक राष्ट्रिय हित, संवैधानिक सर्वोच्चता र लोकतन्त्रको रक्षाका लागि एक हुन सबैलाई आग्रह गरेका छन् ।

उनले भने, ‘फेरि एकपल्ट, राष्ट्रिय हित, संवैधानिक सर्वोच्चता र लोकतन्त्रको रक्षाका लागि राजनीतिक दलहरु, माननीय सांसदहरु, नागरिक समाज, संविधानविद्, कानुन व्यवसायी, बुद्धिजीवी, सञ्चारजगत् तथा सम्बद्ध सबै पक्षलाई एकजुट हुन हार्दिक अपिल गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?