काठमाडौं । नेकपा(माओवादी केन्द्र)ले प्रतिनिधि सभा विघटनकोविरुद्ध सबैसँग एकतावद्ध भएर राजनीतिक र कानुनी संघर्षलाई अगाडी बढाउने निर्णय गरेको छ ।
शनिवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको स्थायी कमिटीको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी मिलेर प्रतिनिधि सभा विघटन र चुनाव घोषणाको असंवैधानिक र निरंकुश कदम चालेको ठहर गर्दै यसको विरुद्धमा अग्रगमन र राष्ट्रिय स्वाधिनताको पक्षधर शक्तिसँग एकतावद्ध भई राजनीतिक र कानुनी संघर्ष अगाडी बढाउने निर्णय गरको नेता नारायणकाजी श्रेष्ठले बताए । उनले भने– ‘प्रधानमन्त्री र राष्ट्रपति मिलेर जो असंवैधानिक, निरंकुश, अलोकतान्त्रिक र प्रतिगामी कदम चालियो । त्यसको सन्दर्भमा सबै संविधान, लोकतन्त्र, अग्रगमन र राष्ट्रिय स्वाधिनताका पक्षधर सबै शक्तिहरु सँग एकतावद्ध भएर राजनीतिक र कानुनी सबै प्रकारको संघर्ष अगाडी बढाउने निर्णय गरेको छ ।’
बैठकले आजै नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा(एमाले) माधव नेपाल पक्ष, जनता समाजवादी पार्टी बाबुराम भट्टराई–उपेन्द्र यावद पक्ष र राष्ट्रिय जनमोर्चाले एकतावद्ध भएर अगाडी बढ्ने निष्कर्षसाथ संयुक्त वक्तव्य निकालेको प्रति स्वागत पनि गरेको छ ।
साथै अन्य सबै राजनीतिक पार्टीहरु, सामाजिक शक्तिहरु, नागरिक समाज, पेशाकर्मी, बुद्धिजिवी लगायत सबैलाई संविधान, लोकतन्त्र, राष्ट्रिय स्वाधिनताको रक्षाको निम्ति एकजुट हुन अपिल पनि गरेको छ । माओवादी केन्द्रले कोरोना महामारीको संकटसँग जुध्न पार्टीको केन्द्रदेखि वडा तहसम्म कोभिड सेवा इकाई गठन गरेर स्वयमसेवक परिचालन गर्ने निर्णय गरेको पनि नेता श्रेष्ठले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया