काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध गठबन्धन गरिरहेका विपक्षी दलहरु सर्वोच्च जाने तयारीमा जुटेका छन् ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले माधव कुमार नेपाल पक्ष, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चासहितको विपक्षी गठबन्धन प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालत जाने तयारीमा लागेका हुन् ।
त्यसको लागि शनिवार देखि नै शुरु भएको र आइतवार (आज) बिहानै देखि आवश्यक कागजात तयारमा लागेको कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल (गौतम) ले लोकपथलाई जानकारी दिइन् ।
‘रिट निवदेन दिन जानका लागि हामी आवश्यक कागजात तयारीमा लागेका छौँ । सबै डकुमेन्टहरु तयार गरेर १४९ जना शशरिर नै अदालतमा उपस्थित हुने तयारी भइरहेको छ । सम्भवत आजै अपरान्हसम्म सबै कागजात पूरा गरेर अदालत जानेछौँ ।’ सचेतक भुसालले भनिन् ।
उनका अनुसार जेठ ६ गते विपक्षी गठबन्धनको सरकार गठनका लागि हस्ताक्षर गरेका सबै सांसदहरुलाई जानकारी गरिसकेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान सरकारले विश्वासको मत लिन नसक्ने अवस्था देखिएको कारण नयाँ सरकार गठनका लागि २१ घण्टाको समय दिएर नयाँ सरकार गठनको आह्वान गरेकी थिइन् । त्यहि अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनको लागि १४९ सांसदको हस्ताक्षर राष्ट्रपति कार्यालयमा बुझाएका थिए ।
यता प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले १५३ जना सांसदको हस्ताक्षर रहेको दाबी गर्दै राष्ट्रपति कार्यालयमा दाबी पेश गरेका थिए । तर राष्ट्रपति भण्डारीले दुवै पक्षको दाबी नपुगेको भन्दै प्रतिनिधि सभा विघटन गरी मध्यावधी निर्वाचन घोषणा गरेकी थिइन् । त्यसको विरुद्ध कांग्रेससहितका दलहरुले कडा प्रतिरोध गर्ने तयारी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया