निषेधाज्ञामा सबै खेलाडीको एउटै समस्या, अपुरो अभ्यास

काठमाडौं।  कोरोनाको दोस्रो लहर शुरु हुनुअघि हरेकदिन कञ्चनपुरको महेन्द्रनगरस्थित कबर्डहल परिसरमा आफ्नो नियमित अभ्यासमा भेटिने कुस्ती खेलाडी शिवानी दुबेको लकडाउन पछिको दैनिकी अर्कै भएको छ ।

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञाले सार्वजनिक स्थलमा खेलकुद गतिविधि बन्द भएसँगै साग पदक विजेता शिवानी अहिले आफ्नै घरको बरण्डामा नियमित अभ्यासमा व्यस्त छिन् । “दौड हुँदैन, अरु शारीरिक अभ्यास घरमै भइरहेको छ”, उनले भनिन्, “बुवा पनि खेलाडी भएकाले घरको छतमा नियमित अभ्यास गरिरहेकी छू, शिवानीले थपिन।

डडेल्धुराकी शिवानी कुस्तीमा अब्बल, ओलम्पिक पुर्‍याउने बुबाको सपना

आफ्नै घरको सिँढी, बरण्डा र छतमा अभ्यासरत शिवानीले कोरोना नियन्त्रणपछि कबर्डहलमा आफ्नो अभ्यास सुचारु गर्ने बताइन् । राष्ट्रियस्तरमा सात स्वर्ण र १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगितामा रजत पदक समेत विजेता शिवानीले तीन महिनादेखि भारतको हरियाणामा प्रशिक्षण लिइरहेकी थिइन्। भारतमा फैलिएको कोरोना महामारीका कारण नेपाल फर्किएकी शिवानिले भनिन् “कोरोनाले भारतमा पनि लकडाउन भयो, फर्किएर घर आएँ”, उनले भनिन्, “भारतमा दुई वर्ष प्रशिक्षणका लागि सम्झौता भएको छ ।” उनका बुबा राजु पनि कुस्तीका राष्ट्रिय खेलाडी हुन् । शिवानीका बुवाले छोरीले घरमा प्रशिक्षण गरिरहेको भिडियोहरु सामाजिक सञ्जालमा समेत पोष्ट गर्दै आएका छन् ।

बक्सिङ ओलम्पियन तथा प्रशिक्षक डम्बरदत्त भट्टले पनि गाउँतिर खेलाडीहरु आन्तरिक प्रशिक्षणमा रहेको बताए । “घरमै रहेर पनि खेलाडीहरु ‘फिटनेस’का अभ्यासहरू गरिरहेका छन्”, उनले भने, “विषम परिस्थितिले खेलकुद क्षेत्र पनि निकै आक्रान्त बनेको छ ।”

उनले आम नागरिकले पनि प्रतिरोधात्मक शक्तिका लागि स्वास्थ्य सर्तकता अपनाएर घरमै व्यायाम गर्न सुझाव दिए । “घरमै बसेर पनि जो कोहीले व्यायाम गर्दा स्वास्थ्यका लागि लाभदायक नै हुन्छ”, उनको भनाई थियो। बीचको केही समय खेल गतिविधि सञ्चालनमा आए पनि दोस्रो लहर आएपछि पुनः स्थगन भएको उनी बताउँछन्।

गत वर्ष पनि कोरोना शुरु हुँदा खेल क्षेत्र प्रभावित भएको बताउँदै जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले दोस्रो लहरमा पनि केन्द्रको निर्देशनअनुरूप सम्पूर्ण खेल गतिविधि बन्द गरिएको जानकारी दिए । “अहिले स्वास्थ्य सतर्कता अपनाएर आफू सुरक्षित रहने बेला हो”, कार्यालय प्रमुख भट्टले भने, “खेल गतिविधि नहुँदा खेलाडीहरु प्रभावित हुनु स्वाभाविक हो ।”

त्यसैगरी कबड्डी प्रशिक्षक विष्णुदत्त भट्टले खेलाडीहरु अहिलेसम्म सङ्क्रमित हुनबाट जोगिएको बताए । “यस्तो बेला बाहिर निस्कन गाह्रो छ”, उहाँले भने, “कबड्डीका खेलाडीहरु गाउँघरमै आन्तरिक व्यायाममा व्यस्त छन् ।”

कञ्चनपुरमा फुटबल, भलिबल, कराँते, कबड्डी, क्रिकेट, बक्सिङ, तेक्वान्दो, भारोत्तोलनलगायतका खेलको प्रशक्षिण हुने गदर्छ । भारोत्तलनका राष्ट्रिय खेलाडी सुवास उपाध्यायले लकडाउनका कारण एक महिनादेखि प्रशिक्षण बन्द भएको बताए । “सामान्य व्यायामहरु घरमै भइरहेको छ”, उनले भने, “नियमित प्रशिक्षण नहुँदा निकै तनाव हुन्छ ।” खेलाडीहरुले बन्द खुल्दा पुनः शुरुआतदेखि प्रशिक्षणमा होमिनुपर्ने अवस्था आउने उनको भनाइ छ ।

त्यस्तै कुस्ती खेलाडी सुरेश चुनारा पनि घरमा सामान्य प्रकारका खेल गतिविधि गरेर दैनिकी काटिरहेको बताउँछन् । “घरबाहिर गएर यस्तो बेला प्रशिक्षण गर्नु भएन”, कुस्तीका अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी चुनाराले भने, “प्रशिक्षण नहुँदा खेल क्षेत्र नै पछि धकेलिने सम्भावना रहन्छ ।” नेपाली सेनाको त्रिभुवन आर्मी क्लबसित आबद्ध रहेर कुस्ती खेल्दै आएका चुनारा महेन्द्रनगरमा डेरा गरी बस्दै आएका छन् । गत वर्ष कोरोना शुरु भएयता प्रशिक्षणले राम्ररी उचाइ लिन नसकेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?