लिग-१ : अन्तिम चरणको खेलले उपाधि टुङ्गो लाग्ने, लिल र पीएसजीमा को हुने विजेता ?

काठमाडौं।  फ्रेन्च लिग-१ अन्तर्गत आज राति अन्तिम चरणका खेलहरू हुँदै छन्। अन्तिम दिनको खेलसम्म आइपुग्दा पनि उपाधि टुङ्गो नलागेको लिग-१ मा लिल र पीएसजी दुई दावेदार टोली रहेका छन्।

शीर्ष स्थानमा रहेको लिलले आज एन्जर्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ। १२औं स्थानमा रहेको एन्जर्सको घरेलु मैदानमा खेलिने खेल नेपाली समय अनुसार राति १२:४५ बजे शुरु हुनेछ।

त्यस्तै साविक विजेता पीएसजीले आफ्नो अन्तिम खेलमा ब्रेस्टसँग प्रतिस्पर्धा गर्दैछ। नेपाली समय अनुसार पीएसजी र ब्रेस्ट बिचको खेल पनि उही समयमा शुरु हुने कार्यक्रम रहेको छ। १६औं स्थानमा रहेको ब्रेस्टविरुद्ध पीएसजीलाई जित मात्र काफी हुने छैन, लिलको एन्जर्सविरुद्धको खेलमा हार वा बराबरी पनि अपरिहार्य रहेको छ।

३७ खेलमा ८० अंकका साथ लिल शीर्ष स्थानमा रहेको छ भने ३७ खेलमा ७९ अंकका साथ पीएसजी दोस्रो स्थानमा रहेको छ। सन् २०११ मा अन्तिम पटक लिग उपाधि जितेको लिललाई भने उपाधि आफ्नै हातमा रहेको छ। लिललाई आफ्नो खेलमा जितको नतिजा साविक विजेता पीएसजीलाई पछि पार्न काफी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?