टेकसिँह धामी, धनगढी । दोस्रो लहरको कोरोना भाइरस फैलिएदेखि सुदूरपश्चिम प्रदेशका अस्पतालहरु भरिभराउ भएका थिए । अस्पतालका इमरजेन्सी वार्ड, ग्यालरी र आँगन समेतलाई नियाल्दा जताततै कोरोना संक्रमितले भरिभराउ भएको दृष्य देखिन्थ्यो ।
महामारी फैलिएसँगै धनगढीस्थित सेती प्रादेशिक अस्पतालका सर्जिकल वार्ड समेत कोरोना संक्रमितले भरिए । कोरोनाका गम्भीर संक्रमित जसलाई अक्सिजन दिएर राख्नुपर्ने हुन्छ । त्यस्ता प्रकारका संक्रमितलाई समेत बेडको अभावमा आँगनमै टेन्ट राखेर उपचार गराउनुपर्ने बाध्यता थियो ।
सेती प्रादेशिक अस्पतालको आँगनमै ८ शय्या क्षमताको टेन्ट निर्माण गरिएकोमा उक्त टेन्ट समेत खचाखच बनेको थियो ।
तर हिजोआज अवस्था फेरिएको छ । संक्रमितको उपचारका लागि आँगनमा लगाईएको टेन्ट हटाइएको छ । इमरजेन्सी वार्डमा उपचार गर्न आउने र भर्ना भएका संक्रमितको चाप समेत कम भएको अस्पतालले जनाएको छ । एउटै बेडमा दुई जनासम्म गरेर व्यवस्थापन गर्नुपर्ने झन्झटबाट हाल अस्पतालले मुक्ति पाएको छ ।
८२ जना संक्रमित उपचाररत
प्रादेशिक अस्पतालका अनुसार हाल कोभिड अस्थायी अस्पताल, इमरजेन्सी वार्ड र सर्जिकल वार्डमा गरी ८२ जना संक्रमित उपचाररत छन् । उनीहरुमध्ये इमरजेन्सी वार्डमा १५ जना, सर्जिकल वार्डमा २० जना, आईसीयूमा १५ जना र कोभिड अस्थायी अस्पतालमा ३२ जनाको उपचार भइरहेको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
पछिल्लो एक साताको अवधिमा दैनिक औसतमा ८–१० जना संक्रमित डिस्चार्ज भइरहदा सोही हाराहारीमा भर्ना भएपनि गम्भीर संक्रमितको संख्या कम भएको उनी बताउँछन् । ‘अस्पतालबाट डिस्चार्ज हुने र भर्ना हुनेको संख्या करिब करिब उस्ताउस्तै रहेको छ,’ श्रेष्ठले भने, ‘तर जटिल खालको स्वास्थ्य समस्या भएको र अक्सिजनको धेरै आवश्यकता पर्ने संक्रमितको संख्या तुलनात्मक रुपमा कम भएका कारण हामीलाई पनि व्यवस्थापनमा सहज भएको छ ।’
अस्पतालमा संक्रमित कम भएसँगै अक्सिजनको माग घट्दा आपूर्तिमा पनि सहज भएको हो । त्यसैमा हाल अस्पतालमा ३५ वटा अक्सिजन कन्सन्ट्रेटर जडान गरिएकाले पनि खासै समस्या नरहेको श्रेष्ठ बताउँछन् ।
महाकाली अस्पतालमा ५० प्रतिशतले घट्यो संक्रमितको संख्या
सेती प्रादेशिक अस्पतालपछि व्यवस्थापकीय समस्या व्यहोरिरहेको कञ्चनपुरको महाकाली अस्पतालमा पनि हाल कोरोना संक्रमितको चाप घटेको छ ।
दुई साता अघि उपचारका लागि पुग्ने संक्रमितको संख्या अहिले ५० प्रतिशतले कम भएको अस्पतालले जनाएको छ । जसमा गम्भीर संक्रमितको संख्या समेत कम भएका कारण अस्पतालले उपचारमा पहिले जस्तो समस्या भोग्नुपरेको छैन ।
‘हामी कहाँ उपचारका लागि आउने संक्रमितको संख्या झन्डै ५० प्रतिशतले कम भएको छ,’ महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा. गोविन्द रोकायाले भने, ‘यसलाई सुखद पक्ष मान्नुपर्छ । सँगसँगै अर्को कुरा के छ भने विगतमा दैनिक २८–३० जना भर्ना हुन आउँथे । उनीहरु मध्ये ८० प्रतिशत केस गम्भीर खालका हुन्थे । तर अहिले १०–१५ जना आइरहेकोमा गम्भीर केस २ प्रतिशत मात्र छ ।’
प्राकृतिक रुपमा कोरोना भाइरस पनि कमजोर हुँदै गएको, मानिसहरुमा समयमै लापरवाही गर्नुहुँदैन भन्ने चेतना बढेको र स्थानीय प्रशासनले गरेको निषेधाज्ञाका कारण थप संक्रमण फैलिन नपाउँदा संक्रमण दर कम हुँदै गएको डाक्टर रोकायाले बताए ।
संक्रमणदरसँगै मृत्युदर पनि ओरालो
दोस्रो लहरको कोरोना भाइरस फैलिएदेखि सुदूरपश्चिम प्रदेशमा एकैदिन सर्वाधिक ३१ जनाको मृत्यु र ११ सय बढिमा संक्रमण पुष्टि भएको रेकर्ड छ । तर पछिल्लो केही दिनयता यहाँ कोरोना संक्रमण र मृत्युदर ओरालो लागेको छ भने संक्रमण मुक्त हुनेको संख्या बढ्दो क्रममा छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरणअनुसार जेठ ६ गते सुदूरपश्चिममा ८ सय ४९ जना संक्रमित थपिएका छन् भने १० जनाको मृत्यु भएको छ । जेठ ७ गते एक हजार ९० जनामा संक्रमण पुष्टि हुँदा ११ जनाको मृत्यु भएपनि जेठ ८ गते संक्रमण घटेर ५ सय २३ जना थपिदा मृत्यु हुनेको संख्या १० मा झरेको छ ।
जेठ ९ गते अहिलेसम्मकै कम ३ सय ८४ जनामा मात्रै संक्रमण पुष्टि भएको छ भने १० जनाको मृत्यु भएको छ । मृत्युदर न्यून हुन नसकेपनि झण्डै दुई गुणाले कम हुनुलाई स्वास्थ्यकर्मीले सुखद पक्ष भनेका छन् । क्रमिक रुपमा कम हुँदै जाने अपेक्षा पनि गरिएको छ ।
चिकित्सक भन्छन्, ‘जोखिम अझै कायमै’
संक्रमण र मृत्युदर तुलनात्मक रुपमा कम तथा अस्पतालहरुमा संक्रमितको चाप घटेको देखिए पनि जोखिम भने कायमै रहेको चिकित्सकहरु बताउँछन् । सेती प्रादेशिक अस्पतालको कोभिड–१९ उपचार विभाग प्रमुख डा. शेरबहादुर कमर भाइरस सबैं एउटै अवस्थामा नरहने बताउँदै यो घटबढ भइरहने दावी गर्छन् ।
उनी भन्छन्, ‘कुनै पनि भाइरस एउटा चरणमा निश्चित बिन्दुमा पुग्छ त्यसपछि विस्तारै घट्दै जान्छ । यो प्राकृतिक नियम नै हो । संक्रमणदर कम भयो भन्दैमा कोरोना भाइरस नियन्त्रणमा आइसक्यो भन्ने हुँदैन् । यसको जोखिम अझै कायमै छ ।’
मानिसहरुमा रोग प्रतिरोधी क्षमता वृद्धि हुँदै जानु, सचेतना वृद्धि, निषेधाज्ञाका कारण मानिसको आवतजावत कम हुनु तथा कमजोर प्रतिरोधी क्षमता भएका मानिसको मृत्यु लगायतका कारण संक्रमण कम भएको उनको भनाई छ ।
ग्याँस उद्योगले मनपरी शुल्क लिएको गुनासो
कोरोना महामारीको समयमा सुदूरपश्चिममा रहेको एकमात्र धनगढीस्थित मालिका ग्याँस उद्योगले मनपरी शुल्क लिएको गुनासो उपभोक्ताले गरेका छन् । अक्सिजन खरिद गर्ने उपभोक्ताले तोकिएको भन्दा दोब्बर बढी मूल्य लिएको गुनासो गरेका हुन् । कोभिड संक्रमित बहिनीका लागि उद्योगबाट अक्सिजन खरिद गरेका धनगढीका एक युवकले भने, ‘प्रति सिलिण्डर चार–सय रुपैयाँ पर्छ भन्ने सुनेको थिएँ । तर उद्यागेले एक सिलिण्डरको नौँ सय रुपैयाँ लियो ।’ उनका अनुसार नौ सयमा पनि अक्सिजन पाउन हम्मेहम्मे परेको थियो ।
प्रशासनले सोध्यो स्पष्टीकरण
चर्को मूल्यमा अक्सिजन बिक्री वितरण गरिरहेको गुनासोपछि मालिका अक्सिजन उद्योगका सञ्चालकलाई जिल्ला प्रशासन कार्यालय कैलालीले स्पष्टीकरण सोधेको छ । कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले उद्योग सञ्चालकलाई प्रशासन कार्यालयमा बोलाएर स्पष्टीकरण सोधेको बताए ।
चौधरीले भने, ‘मौखिक जवाफमा उद्योग सञ्चालकले बढी मूल्य नलिएको दाबी गरेको छ । तर हामीले लिखित स्पष्टीकरण भने बुझाउन निर्देशन दिएका छौ ।’
यस्तै जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले अक्सिजन उत्पादनको लागत बढेको र मूल्य पनि बढाउन पर्ने उद्योगबाट माग आएको बताए ।
‘महामारीको समयमा मूल्य बढाउँदा ठिक हुँदैन भनेर हामीले उद्योग सञ्चालकलाई भनेका छौ,’ जोशीले भने, ‘आज पनि हामी उद्योगको अनुगमनमा गइरहेका छौ । चर्को मूल्यमा बिक्री गरेको पाइएमा कारबाही हुन्छ ।’
यता उद्योग सञ्चालकले भने प्रशासनले स्पष्टीकरण सोधेपछि तोकिएको मुल्यमा नै अक्सिजन सिलिण्डर बिक्री गरिरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया