अनुदानको अक्सिजन सिलिण्डरमा वनमन्त्रीको प्रचार, औषधिका प्याकेटमा समेत मन्त्रीकै तस्वीर

लोकपथ
84
Shares

टेकसिंह धामी, धनगढी । सुदूरपश्चिमको डोटीमा नेपाल सरकारका वन तथा वातावरण मन्त्री प्रेम आलेमगरले कोरोना नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य सामाग्री वितरण गरेका छन् । हेलिकोप्टरमार्फत गृह जिल्ला डोटी पुगेका मन्त्री आलेले जिल्ला अस्पताल डोटी, जिल्लाका ९ वटा स्थानीय तह, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पत्रकार र शिक्षकका लागि स्वास्थ सामाग्री वितरण गरेका हुन् ।

वनमन्त्री आलेले चीनबाट अनुदानमा ल्याइएको अक्सिजन सिलिण्डरमा पनि व्यक्तिगत लगानीमा वितरण गरिएको भन्दै फोटोसहितको पोस्टर टाँसेका छन् । जसका कारण मन्त्री आले विवादमा तानिएका छन् । आलेले अनुदानमा आएको सिलिन्डरमा ब्यक्तिगत लगानी भन्दै वितरण गरी प्रचारवाजी मात्रै गरेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।

गृह जिल्ला पुगेका मन्त्री आलेले जिल्ला अस्पताल डोटीलाई ३० वटा अक्सिजन सिलिण्डर, १० लिटर सेनिटाइजर, १२ वटा एचडियु बेड, ३० हजार सर्जीकल मास्क र एन्टिजेन किट प्रदान गरेको मन्त्री आलेको निजी सचिवालयमा कार्यरत प्रशासन सहायक भक्त आलेले बताए ।

त्यस्तै जिल्लाका नौँ स्थानीय तहलाई पाँच/पाँच वटा अक्सिजन सिलिण्डर, दुई/दुई वटा एचडियु बेड, पाँच/पाँच हजार सर्जिकल मास्क र जिल्लाका विभिन्न वडालाई एक हजारका दरले ६५ हजार मास्क वितरण गरिएको पनि आलेले जानकारी दिए ।
मन्त्री आले भन्छन्,‘ब्यक्तिगत लगानी हो’

डोटीमा स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै मन्त्री आलेले भने, ‘डोटीका लागि ७५ र कैलालीका लागि ५० वटा अक्सिजन सिलिण्डर वितरण गर्दैछु । त्यसमा १५ वटा स्वास्थ्य सेवा विभागले दिएको हो । बाँकी एक सय १० वटा मैले आफ्नै रकमले खरिद गरेको हुँ ।’ उनले कोभिड १९ भाइरसको नियन्त्रणमा सरकार प्रतिबद्ध रहेको दावी गरे ।

मन्त्री आलेले डोटीमा वितरण गरेका अक्सिजन सिलिण्डरदेखि औषधिका प्याकेटमा पनि आफ्नो तस्बिर टाँसेका छन् । उनले चीनबाट अनुदानमा ल्याएर स्वास्थ्य सेवा विभागले दिएका अक्सिजन सिलिण्डरमा पनि आफ्नै तस्बिर टाँसेका हुन् । जहाँ लेखिएको छ, ‘नेपाल सरकारका माननीय वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेज्यूको व्यक्तिगत सहयोगबाट प्राप्त स्वास्थ्य सामाग्री ।’

तर मन्त्री आलेको निजी सचिवालयमा कार्यरत प्रशासन सहायक भक्त आलेले भने स्वास्थ्य सेवा विभागले दिएका सिलिण्डरमा पनि अक्सिजन फिलिङ मन्त्रीको व्यक्तिगत खर्चबाट गरिएकोले तस्बिर टाँसिएको जनाए । उनका अनुसार कैलाली र डोटीका लागि मन्त्री आलेले स्वास्थ्य सामाग्रीका लागि ६० लाख बढि खर्च गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?