प्रतिनिधि सभा विघटनका विरुद्ध जिल्ला जिल्लामा आन्दोलन गर्न तरुण दलको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले प्रतिनिधि सभा विघटन गरी मध्यावधि चुनावको घोषणा गर्ने सरकारको कदमका विरुद्ध संघर्षको कार्यक्रम गर्न सबै जिल्लाहरुलाई निर्देशन दिएको छ ।

नेपाल तरुण दलका अध्यक्ष जित जङ्ग बस्नेतले मंगलबार तरुण दलका जिल्ला समितिलाई पत्राचार गर्दै चुनावको नाटक गर्ने प्रधानमन्त्री र त्यसलाई सघाउने राष्ट्रपतिको राष्ट्रघाती कदमका विरुद्धमा संघर्षका कार्यक्रम गर्न निर्देशन दिएका हुन् । कोभिड १९ को महामारीलाई ध्यानमा राखी स्वास्थ्य मापदण्डको पालना गर्दै संघर्षका कार्यक्रम गर्न निर्देशन दिईएको छ ।

तरुण दलले अन्य राजनीतिक दलका युवा संगठनहरु योङ कम्युनिष्ट नेपाल, समाजवादी युवा संघ–नेपाल, युवा संघ नेपाल, अखिल नेपाल युवक संघ र विवेकशिल साझा युवा संगठनसँग संयुक्त रुपमा संघर्षको कार्यक्रम गर्न छलफल गरिरहेको भन्दै सबै जिल्लाहरुमा ति संगठनहरुसँग समन्वय गर्न पनि भनेको छ ।

जेठ ७ गते प्रतिनिधिसभाको विघटन गरिनुलाई तरुण दलले असंवैधानिक, अलोकतान्त्रिक, निरङ्कुश, स्वेच्छाचारी र प्रतिगामी कदमको रुपमा ठहर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?