सन्दीपले ट्रिनबागो नाईट राइडर्सबाट ‘सीपीएल’ खेल्ने

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले ‘ट्रिनबागो नाईट राइडर्स’बाट ९औं संस्करणको क्यारिबियन प्रिमियर लिग (सीपीएल) खेल्ने निश्चित भएको छ।

मंगलवार सार्वजनिक समाचार अनुसार सीपीएलको साविक विजेता ट्रिनबागोले सन्दीपलाई ‘ड्राफ्ट’मार्फत आफ्नो टोलीमा समावेश गरेको हो।

गत वर्ष जमाईका तलहवाजबाट ‘सीपीएल’ खेलेका सन्दीपले प्रतियोगितामा उत्कृष्ट बलिङ गरेका थिए। तर जमाईकाको सिजन सेमी फाइनलमा नै अन्त्य भएको थियो।

तीन सिजन ‘सीपीएल’ खेलिसकेका सन्दीपले जमाईका अघि ‘सेन्ट किट्स एण्ड नेभिस’ र ‘बार्बाडोस’का लागि क्रिकेट खेलिसकेका छन्।

सन्दीपको नयाँ टोली ‘ट्रिनबागो नाईट राइडर्स’ले तीन पटक ‘सीपीएल’ उपाधि जितेको छ।

भारतीय अभिनेता शाहरुख खान, अभिनेत्री जुही चावला र उनका श्रीमान जय मेहताको आर्थिक लगानी रहेको ‘ट्रिनबागो’का कप्तान केरान पोलार्ड रहेका छन्। त्यस्तै ट्रिनबागोमा लेन्डल सिमन्स, द्वेन ब्राभो र सुनिल नराइन जस्ता खेलाडी सम्मिलित छन्।

सन् २०२१ को ९औं संस्करणको सीपीएल आगामी ‘अगस्ट २८’ देखि ‘सेप्टेम्बर १९’ सम्म खेलिने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?