काठमाडौं। बायर्न म्युनिकका प्रशिक्षक हान्सी फ्लीक जर्मनी राष्ट्रिय फुटबल टोलीको नयाँ मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।
‘युरो कप २०२०’ पछि वर्तमान प्रशिक्षक ‘जोचिम ल’को स्थानमा हान्सी फ्लीकले जर्मनी राष्ट्रिय टोलीको प्रशिक्षण जिम्मेवारी लिने पक्का भएको छ। फ्लीकले भर्खरै बायर्नलाई बुन्डेस लिगा उपाधि जिताएका थिए।
फ्लीक सन् २००६ देखि २०१४ सम्म जर्मनीको सहायक प्रशिक्षक भएर काम गरिसकेका छन्। करिब ८ वर्ष ‘जोचिम ल’को सहायक हुँदा फ्लीकले जर्मनी राष्ट्रिय टोलीसँग सन् २०१४ को विश्वकप फुटबल उपाधि जितेका थिए।
सन् २०१९ मा बायर्नको सहायक प्रशिक्षकमा नियुक्त भएका फ्लीक ‘निको कोभाच’ पछि क्लबको मुख्य प्रशिक्षकमा बढुवा भएका थिए।
बायर्नसँग आफ्नो पहिलो सिजनमै उनले ‘बुन्डेस लिगा’, ‘जर्मन लिग’ र ‘युईएफए च्याम्पियन्स लिग’को उपाधि जितेका थिए। उनले बायर्नसँग दोस्रो सिजनमा ‘युईएफए सुपर कप’, ‘फिफा क्लब विश्वकप’ र अर्को ‘बुन्डेस लिगा’ उपाधि जिते।
गत अप्रिल महिनामा बायर्नले ‘आर.बी. लाइपजिग’को मुख्य प्रशिक्षक ‘जुलियन नैँगल्सम्यान’लाई आगामी सिजनबाट मुख्य प्रशिक्षकमा नियुक्त गरेपछि फ्लीक जर्मनी राष्ट्रिय टोलीको प्रशिक्षक बन्ने कुराको अनुमान फुटबल प्रेमीले लगाइसकेका थिए।
फ्लीकले जर्मनी राष्ट्रिय टोलीसँग तीन वर्षको सम्झौतामा हस्ताक्षर गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया