सर्वोच्चले भन्यो- ‘प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच भेट भएको छैन’

काठमाडौं । सर्वोच्च अदालतले बालुवाटारमा प्रधामन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा गएको भन्ने समाचारमा सत्यता नभएको प्रष्ट पारेको छ ।

सर्वोच्च आज एक विज्ञप्ति जारी गर्दै जेठ १० गते राति प्रधानन्यायाधीश जबरा गएको भन्दै विभिन्न सञ्चार माध्यममा आएका समाचारमा कुनै सत्यता नभएको प्रष्ट पारेको छ ।

उक्त विषय न्यायपालिकाको स्वच्छता, आस्था र विश्वासमा समेत प्रतिकुल प्रभाव पार्ने गरि अतिरञ्जित भावनाबाट समाचार प्रकाशित हुनु दुखद रहेको समेत सर्वोच्चले जनाएको छ ।

साथै यसप्रकारका कार्यहरुले संविधान, कानून र स्वयम् पत्रकार आचारसंहिताको समेत प्रतिकुल हुने भन्दै कानूनी दायरामा समेत ल्याउन सकिनेप्रति समेत सर्वोच्चका सहप्रवक्ता देबेन्द्र ढकालले जनाएका छन् ।

‘उल्लेखित विषयमा कुनै सत्यता नरहेको र न्यायपालिकाको स्वच्छता एवम् यस प्रतिको आस्था र विश्वासमा प्रतिकुल प्रभाव पार्ने गरी अतिरञ्जित तथा दुरासययुक्त भावनाबाट समाचार प्रकाशन हुनु अत्यन्त दुखद र खेदजन्य विषय हो । अदालतमा दर्ता हुन आएका कुनैपनि विवादसँग जोडेर न्यायसम्पादनको कार्यलाई प्रतिकुल प्रभाव पार्ने कुत्सित मनसाय राखी सत्य तथ्य र यथार्थ अवस्था बुझ्दै नबुझी समाचार संकलन हुनु दुखद अवस्था हो । यस प्रकारका कार्यहरु संविधान, कानून र स्वयम् पत्रकार आचारसंहिताको समेत प्रतिकुल हुने हुँदा कानूनी दायरामा आउन सक्ने तर्फ समेत सचेत हुन ध्यानाकर्षण गराउँदछौ । साथै यस्ता भ्रमपूर्ण कपोकल्पित समाचारको भ्रममा नपर्न सबैमा अनुरोध गर्दछौँ ।’ प्रवक्ता ढकालले जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेसँगै विपक्षी दलहरुले सर्वोच्चमा रिट दर्ता गरेका छन् । यसैबीच प्रधानमन्त्री भेट्न प्रधानन्यायाधीश राणा बालुवाटार गएको भन्ने चर्को आलोचना भइरहेको छ । यसैबीच सर्वोच्चले त्यसबारे प्रष्ट पारेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?