विराटनगरका मुख्य प्रशिक्षक “ल” एनएसएलबाट एक सिजन प्रतिबन्धित

काठमाडौं।  विराटनगर सिटी एफसीका मुख्य प्रशिक्षक ‘यान ल’लाई एनएसएलको अनुशासन समितिले एक वर्षको प्रतिबन्ध लगाएको छ।

पहिलो संस्करणको एनएसएलको समूह चरणको खेलमा रेफ्रीको निर्णय प्रति असन्तुष्टी व्यक्त गर्दै आफ्ना खेलाडीलाई मैदान छाड्न आदेश दिएका ‘ल’लाई एनएसएलको आगामी संस्करणमा प्रशिक्षण गर्नबाट प्रतिबन्ध लगाइएको हो।

ललितपुर सिटी एफसीविरुद्धको खेलमा रेफ्रीले विपक्षी टोलीको पक्षमा निर्णय गरेका भन्दै ‘ल’ले आफ्ना खेलाडीलाई मैदान छाड्न आदेश दिएका थिए।

खेलमा अनुशासन र स्पोर्ट्सम्यानशिपको उलंघन गरेको भन्दै एनएसएलले ‘ल’माथि कारवाही गरेको हो। उनलाई एक वर्ष प्रतिबन्ध सहित ५० हजार रुपैयाँ जरिवाना समेत लगाइएको छ।

त्यस्तै विराटनगर सिटी एफसी क्लबलाई पनि १ लाख रुपैयाँ जरिवाना लगाइएको छ।

एनएसएलको अनुशासन समितिले विराटनगर सिटी एफसीका निर्देशक ‘सोनाम घले’, सहायक प्रशिक्षक ‘निशान श्रेष्ठ’ र सहायक व्यवस्थापक ‘मिलन गुरुङ’को व्यवहार पनि अभद्र रहेको घोषित गर्दै तीनै जनालाई ३-३ खेलको प्रतिबन्ध लगाएको छ।

एनएसएल अनुशासन समितिको यस्तो निर्णयमा विराटनगर सिटी एफसीले आपत्ति जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?