युईएफए युरोपा लिग : भिल्लारियलद्वारा म्यान्चेस्टर युनाइटेड पराजित, युनाई एमेरीले रचे इतिहास

काठमाडौं।  युईएफए युरोपा लिग अन्तर्गत गए राति भएको फाइनल खेलमा स्पेनिश क्लब भिल्लारियलले इंग्लिश क्लब म्यानचेष्टर युनाइटेडलाई पराजित गरेको छ।

पोल्याण्डको ‘गुडान्स्क’मा खेलिएको उक्त फाइनल खेलमा भिल्लारियलले पेनाल्टीमा ११-१० गोलले जित हासिल गरेको हो।

निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयतर्फ गएको थियो। त्यसमार्फत पनि खेलको टुङ्गो लाग्न नसक्दा खेल पेनाल्टीमा पुगेको थियो।

त्यसअघि, पहिलो हाफको २९औं मिनेटमा नै भिल्लारियलका स्ट्राइकर ‘जेरार्ड मोरेनो’ले गोल गरेका थिए। परेहोको सुन्दर ‘फ्रीकीक’लाई मोरेनोले उत्कृष्ट तरिकाले गोलमा परिणत गर्दा ‘यल्लो सबमरिन’ भिल्लारियलले खेलमा अग्रता लिएको थियो।

दोस्रो हाफको ५५औं मिनेटमा म्यानचेष्टर युनाइटेडले खेलमा बराबरी गोल गर्न सफल भयो। स्ट्राइकर एडिनसन काभानीको ‘पोचर्स गोल’मार्फत युनाइटेड खेलमा फर्किएको थियो।

निकै नै लामो समयसम्म चलेको पेनाल्टी शुटआउट ‘म्याराथन’ नै बन्न पुग्यो। भिल्लारियलका सबै ११ खेलाडीले आफ्ना पेनाल्टीलाई गोलमा परिणत गर्दा, म्यानचेष्टर युनाइटेडका गोलरक्षक डाभिड डेहेया भने गोल गर्न चुके। र खेल ११-१० ले भिल्लारियलको पक्षमा गयो।

त्यस्तै भिल्लारियलका मुख्य प्रशिक्षक युनाई एमेरी सर्वाधिक युरोपा लिग जित्ने प्रशिक्षक बनेका छन्। उनी ४ पटक युरोपा लिग जित्ने पहिलो प्रशिक्षक बनेका छन्। ‘जियोभानी ट्रापाटोनी’को ३ युरोपा लिगको कीर्तिमान तोड्दै उनले गए राति इतिहासमा नाम लेखेका हुन्। एमेरीले यस अघि स्पेनिश क्लब सेभियासँग सन् २०१४, २०१५ र २०१६ मा युरोपा लिग जितिसकेका छन्।

यसै गरी क्लबको ९८ वर्षको इतिहासमा भिल्लारियलको यो पहिलो युरोपियन उपाधि हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?