११ वर्षपछि इन्टर मिलानलाई उपाधि जिताएका एन्टनियो कोन्टेले छाडे क्लब

काठमाडौं।  इटालियन सिरी-ए विजेता इन्टर मिलानका मुख्य प्रशिक्षक एन्टनियो कोन्टेले क्लब छाड्ने निर्णय गरेका छन्।

५१ वर्षीय कोन्टेले गत महिना इन्टरलाई ११ वर्षपछि सिरी-ए उपाधि जिताउन सफल भएका थिए। आफ्नो दुई वर्षको कार्यकालमा कोन्टेले इन्टरलाई गत वर्ष युरोपा लिग फाइनलसम्म पनि पुर्याएका थिए।

यद्यपि क्लबका मालिक र कोन्टेबिच तलब र खेलाडी सरुवा बजारमा विवाद परेपछि कोन्टेले प्रशिक्षकको कार्यकाल छाड्ने निर्णय गरेका हुन्। क्लबले बुधवार औपचारिक विज्ञप्ती निकाल्दै सो निर्णयको समाचार सार्वजनिक पनि गरेको छ।

क्लबले उक्त विज्ञप्तीमा कोन्टेलाई धन्यवाद व्यक्त गर्दै क्लबलाई १९औं लिग उपाधि जिताएकोमा उनी क्लबको इतिहासमा रहने कुराको जानकारी पनि दिएको छ।

इन्टर मिलानले सिरी-ए मा यस सिजन ९१ अंक बटुल्दै दोस्रो स्थानमा रहेको एसी मिलान भन्दा १२ अंकमाथि रहन सफल भएको थियो। त्यस्तै कोन्टेले ७६ खेलमा प्रशिक्षण गर्दा इन्टरले ५२ जित, १७ बराबरी र मात्र ७ हारको नतिजा निकालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?