आज अध्यादेशबाट बजेट आउँदै : यी हुन् प्राथमिकताका क्षेत्रहरु

काठमाडौं । सरकारले आज जेठ १५ गते अपरान्ह ४ बजे आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दैछ । आगामी आर्थिक वर्षका लागि सरकारले सवा १६ खर्ब रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्न लागेको हो ।

यसपाली सरकारले कोरोना भाइरस‘कोभिड १९’ नियन्त्रण तथा खोपलाई मुख्य प्राथमिकतामा राखेर बजेट सार्वजनिक गर्दैछ । जसमा खोप केन्द्र तथा अस्पतालहरुलाई कोरोना उपचारका लागि विशेष व्यवस्था गरिनेछ ।

केही दिन अघि मात्रै अक्सिजन प्लान्ट स्थापना, अक्सिजन ट्यांक, एचडियु जडान र पिसिआर मेसिन खरिदका लागि अर्थ मन्त्रालयले ८ करोड १० लाख रुपैयाँ निकासा गरेको थियो । सरकारले पटक पटक गरी कोरोना नियन्त्रणका लागि बजेट निकासा गरिरहेको छ । त्यसैगरी, सरकारले आगामी आर्थिक वर्षको बजेटमा निर्वाचनका लागि पनि रकम विनियोजन गरेकोे छ । संघीय संसद तथा स्थानीय तह निर्वाचनका लागि सरकारले करिब ३० अर्ब रुपैयाँ छुट्टयाउने भएको छ ।

त्यसका साथै यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रुपमै घोषणा गरेको वृद्धभत्ता पनि बढाइने भएको छ । त्यस्तै यसपाली कर्मचारीको भत्ता समेत बढ्ने बताइएको छ ।

त्यस्तै,बजेटमा राजश्वको लक्ष्य २१ प्रतिशतले बढाइएको छ । भने २ खर्ब ४० अर्ब आन्तरिक राष्ट्र ऋण उठाउने लक्ष्य राखिएको छ ।

त्यस्तै आज बजेट आउने पूर्व सन्ध्यामा प्रधानमन्त्री निवासमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । बैठकमा बजेटको प्राथमिकताका बारेमा नै छलफल भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

यस्ता छन्, बजेटका अन्य प्राथमिकता

आगामी आर्थिक वर्षको बजेट कोरोना शुरु भएपछिको दोस्रो बजेट हो । कोरोनाले क्षति पु-याएका क्षेत्रहरुलाई सरकारले चालू आर्थिक वर्षको बजेटले पनि केही मात्रामा संबोधन गरिसकेको छ । सरकारले यसपालीको बजेटमा कोरोना भाइस रोक्न स्वास्थ्य क्षेत्रलार्ई विशेष प्राथमिकतामा राखेको छ । त्यसैगरी,कोरोना कालमा सबैभन्दा बढी क्षति भएको क्षेत्र हो,पर्यटन क्षेत्र । सरकाले आगामी आर्थिक वर्षको बजेटमा पर्यटन क्षेत्रमा पारेको प्रभावलाई नीतिगत रुपमा संबोधन गर्दैछ । त्यस्तै, सरकारले देशभरका १६५ वटा निर्वाचन क्षेत्रमा सडक बनाउने गरी निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम शुरु गरिसकेको छ । यो कार्यक्रम चालू आर्थिक वर्षमा बजेटको प्राथमिकतामा परेन । तर आगामी आर्थिक वर्षको बजेटको प्राथमिकतामा यो कार्यक्रम परेको छ ।

यो कार्यक्रमको लागत अनुमानित ५७ अर्ब १० करोड रुपैयाँ रहेको छ भने ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

त्यसका साथै रोजगारी सिर्जना,कृषि क्षेत्रको विकास,ठूला पूर्वाधार आयोजना आर्थिक पुनरुत्थान कार्यान्वयनमा निरन्तरता, सामाजिक विकासमा लगानी, दिगो विकासका लक्ष्य हासिल तथा क्षेत्रगत र प्रादेशिक सन्तुलन लगायतका क्षेत्रहरु बजेटका प्राथमिकतामा परेका छन् । त्यति मात्रै होइन,उद्योगी तथा व्यवसायीहरुले पनि कर,राजश्व सम्बन्धी विभिन्न सुझावहरु पेश गरेका छन् । उनीहरुका माग पनि सम्बोधन गर्नुपर्ने बाध्यता अर्थमन्त्रीलाई छ ।

संसदमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने भएपनि प्रतिनिधिसभा विघटन भएकाले यसपाली सरकारले अध्यादेशबाट बजेट ल्याउँदैछ । प्रधानमन्त्री कार्यालयबाट अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्ने छन् ।

को को हुँदैछन् उपस्थित ?

सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गर्न लागेको बजेटमा प्रधानमन्त्री, सरकारका मन्त्रीहरु, मुख्य सचिव, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, गभर्नर, प्रधानमन्त्री कार्यालयका सचिवहरु, अर्थ तथा राजश्व सचिवको उपस्थिति रहने बताइएको छ ।

त्यसैगरी, निजी क्षेत्रका छाता संगठनहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा नेपाल चेम्बर अफ कमर्शका अध्यक्षलाई पनि बजेट भाषणमा उपस्थित गराइने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?