लुम्बिनीबाट को आउला राष्ट्रिय सभामा ?

लोकपथ
378
Shares

काठमाडौ । लुम्बिनी प्रदेशमा भोलि हुने राष्ट्रिय सभा उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको बताइएको छ ।

भोलि हुने उपनिर्वाचनमा मतदानका लागि बिहान ९ बजे देखि ३ बजेसम्मको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रिय सभा उपनिर्वाचनमा सत्तारुढ नेकपा एमालेबाट चन्द्र बहादुर खड्का र बिपक्षी गठबन्धनबाट दीर्घनारायण पाण्डे उम्मेदबार छन् ।

एमालेका उम्मेदवार खड्कालाई राप्रपाको समर्थन रहेको बताइएको छ । उता विपक्षी गठबन्धनका उम्मेदवार पाण्डेलाई नेपाली कांग्रेस,माओवादी केन्द्र,एमालेको माधव नेपाल– भलनाथ खनाल पक्ष र जसपाको उपेन्द्र यादव–बाबुराम भट्टराई तथा जनमोर्चाको समर्थन रहेको छ । यस अघि माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य रहेका खड्का माओवादी छोडेर एमालेमा प्रवेश गरेपछि लुम्बिनीमा उपनिर्वाचन हुन लागेको छ ।

उता कांग्रेस सहितको गठबन्धनबाट उम्मेदवार बनेका पाण्डे एमालेबाट प्रदेश सभा सदस्य रहेका थिए । उनी एमाले छोडेर कांग्रेस प्रवेश गरेपछि कांग्रेसले उनलाई राष्ट्रिय सभा उम्मेदवार बनाएको हो । खड्का र पाण्डेलाई निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गरिसकेको छ ।

खड्काले सूर्य र पाण्डेले रुख चिन्ह पाएका छन् । बागमति प्रदेशमा जस्तै नेकपा एमालेका नेपाल–खनाल पक्षले बिपक्षी गठबनधनलाई सघाउने भएका कारण पाण्डेले बाजी मार्ने दावी गरिएको छ । एमालेले पनि आफ्ना उम्मेदवारले जित्ने बताएको छ । जेठ ६ गते बागमति प्रदेशमा भएको राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेका उम्मेदवार रामबहादुर थापा बादल विपक्षी गठबन्धनका उम्मेदवार डा.खिमलाल देवकोटासँग पराजित भएका थिए ।

लुम्बिनीमा आ–आफ्ना उम्मेदवारलाई जिताउने विषय एमाले र कांग्रेसका लागि प्रतिष्ठाको विषय बनेको छ । बागमतीकै जस्तो समीकरण भएमा बिपक्षी गठबनधनले जित्ने दाबी गरिएको हो ।

कति छन् लुम्बिनीमा मतदाता ?

लुम्विनी प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मात्रै मतदान गर्न पाउनेछन् । लुम्बिनी प्रदेशको प्रदेश सभा सदस्य संख्या ८७ हो । तर जसपाले आफ्ना चार प्रदेश सभा सदस्यलाई कारवाही गरेको छ भने माओवादीले २ जनालाई कारवाही गरेको छ । त्यसैगरी एमालेबाट २ जनाले राजीनामा दिएका कारण ८ जनाले मतदानमा सहभागी बन्न नपाउँदा ७९ जना सदस्यले मात्रै मतदान गर्न पाउँछन् ।

त्यसैगरी स्थानीय तहका प्रमुख–उपप्रमुख २१७ जना छन् । दुबै गरेर राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा २९६ मतदाता छन् । निर्वाचनका लागि प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ छ । प्रदेशका ७९ प्रदेशसभा सदस्यको ३ हजार ७९२ र स्थानीय तहका २ सय १७ जनप्रतिनिधिको ३ हजार ९०६ गरी जम्मा ७ हजार ६९८ मतभार छ । प्रदेशसभामा एमालेका ३८ सांसद छन् भने विपक्षी गठबन्धनका ४१ सांसद छन् ।

यस्तै, स्थानीय तहका २१७ मतदातामध्ये एमालेका ९४,नेपाली काँग्रेसका ६४, माओवादीका ३६, जसपाका ११ जनमोर्चाका ५,स्वतन्त्र ५ र राप्रपाका २ छन् । दुईजनामात्र उम्मेदवार भएकाले दुइमध्ये कुनै एक जनाले ३ हजार ८५० मतभार ल्याएमा निर्वाचित हुनेछ । दलहरुको आ–आफ्नै रणनीति भएपनि उपनिर्वाचनमा कसले बाजी मार्ला भन्ने चासो बढेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?