डोमिनिक थिएम ‘फ्रेन्च ओपन’को पहिलो चरणबाट बाहिरिए

काठमाडौं। विश्व नम्बर ४ डोमिनिक थिएम ‘फ्रेन्च ओपन २०२१’ को पहिलो चरणबाटै बाहिरिएका छन्।

गए राति सम्पन्न खेलमा ६८औं वरियताका पाब्लो अन्डुजारले थिएमलाई ४-६, ५-७, ६-३, ६-४, ६-४ को सेटले पराजित गर्दै दोस्रो चरणको यात्रा सुनिश्चित गरेका हुन्। पहिलो दुई सेट थिएमले आफ्नो पक्षमा पार्न सफल भए पनि त्यसपछिका दुई सेट स्पेनिश खेलाडी अन्डुजारले आफ्नो पोल्टामा पार्न सफल भएका थिए।

रफाएल नाडाल र नोभाक जोकोभिचका प्रत्यक्ष प्रतिद्वन्दीको रूपमा लिइएका थिएमले खेलको अन्तिम सेटमा आफ्नो सन्तुलन गुमाउन पुगे र स्पेनियार्ड अन्डुजारलाई खेल सुम्पिए।

गत वर्षको ‘यु.एस. ओपन’ विजेता थिएमलाई यस वर्षको फ्रेन्च ओपन दावेदारका रुपमा हेरिएको थियो। नाडाल र जोकोभिचले आफ्ना सबै खेलमा जित प्राप्त गरेको खण्डमा पनि उनीहरूको भेट सेमी फाइनलमै हुनेथियो। उता २७ वर्षीय थिएमलाई फाइनल सम्मको यात्रा सरल हुने अनुमान लगाइएको थियो।

तर गए राति भएको खेलमा अस्ट्रियाई खेलाडी थिएम ‘फिलिप चार्टर कोर्ट’मा पहिलो चरणमै अप्रत्याशित रूपमा पराजित हुन पुगे। सन् २०१८ र २०१९ का फ्रेन्च ओपन उपविजेता थिएम यसरी पहिलो चरणबाटै बाहिरिनु निकै नै अनौठो दृश्य रह्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?