‘कोपा अमेरिका’ अब अर्जेन्टिनामा पनि नहुने

काठमाडौं।  यही ‘जुन १३’ देखि ‘जुलाई १०’ सम्म हुने ‘कोपा अमेरिका’को सह-आयोजक राष्ट्र अर्जेन्टिनालाई पनि आयोजक राष्ट्रको सूचीबाट हटाइएको छ।

कोरोना भाइरसको महामारीले दैनिक रूपमा आक्रान्त मच्चाइरहेको अर्जेन्टिनालाई ‘कोनमेबोल’ले आयोजक राष्ट्रको सूचीबाट बर्खास्त गरेको छ। दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय ‘कोनमेबोल’ले प्रतियोगिता आयोजनाका लागि अन्य राष्ट्रसँग छलफल गरिरहेको जानकारी सार्वजनिक गरेको छ।

सन् २०२० मै आयोजना हुनु पर्ने ‘कोपा अमेरिका’ फुटबल कोरोना महामारीकै कारण एक वर्ष धकेलिएको थियो।

त्यस्तै अर्को सह-आयोजक कोलम्बियालाई पनि ‘कोनमेबोल’ले यसै महिना आयोजक राष्ट्रबाट बर्खास्त गरेको थियो। कोलम्बियामा जारी ‘सिभिल अनरेस्ट’का कारण कोलम्बियालाई आयोजक राष्ट्रबाट हटाइएको थियो।

अब दुवै आयोजक राष्ट्रहरू बर्खास्त भएको अवस्थामा ‘कोपा अमेरिका’ प्रतियोगिता हुने नहुने अन्योलमा परेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?