काठमाडौं। रियल मड्रिडका कप्तान तथा प्रमुख डिफेन्डर ‘सर्जियो रामोस’ले रियल मड्रिड छाड्ने भएका छन्।
३५ वर्षीय सपेनियार्ड रामोसले नयाँ सम्झौतामा हस्ताक्षर नगर्दा रियल मड्रिडसंगको यात्रामा पूर्णविराम लगाउने निर्णय गरेका हुन्।
‘जुलाई १’ तारीखमा रामोसको रियलसंगको सम्झौता सकिँदै छ। क्लबले उनलाई १ वर्षको नयाँ सम्झौता प्रस्तुत गरेपनि रामोसको बार्षिक तलब र सम्झौता अवधिमा कुरा नमिल्दा उनले क्लब छाड्न लागेका हुन्।
स्पेनिश पत्रिका ‘कोप ‘का अनुसार रामोसले अवश्य पनि यो सरुवा बजारमा रियल मड्रिडसंगको १६ वर्षे लामो यात्रालाई टुंग्याएर क्लब छाड्ने निधो गरिसकेका छन्। उनले बांकि खेलाडी जस्तै ‘पे कट’ लिन नमानेको कुरा सार्वजनिक भएको छ। रियलले आफ्ना सबै खेलाडीको तलबमा केही प्रतिशत कटुवा गरेको हुनाले रामोसलाई पनि कटौतीको तलब लिन आग्रह गरेको थियो।
रामोसले रियल संगको १६ वर्षे यात्रामा ४ ‘च्याम्पियन्स लिग’ उपाधि ५ ‘ला-लिगा’ उपाधि सहित जम्मा २२ उपाधि जितिसकेका छन्। त्यस्तै रामोसले राष्ट्रिय टोली स्पेनका लागि १ ‘विश्वकप फुटबल’ उपाधि तथा २ ‘युरो कप’ उपाधि जितेका छन्।
रामोसलाई स्पेन र रियल मड्रिड दुवै टोलीको “लेजेण्ड” भन्दा गलत हुँदैन। उनी विश्वकै उत्कृष्ट मध्येका एक डिफेन्डर हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया