‘कोपा अमेरिका २०२१’ अब ब्राजिलमा हुने

काठमाडौं।  ‘कोपा अमेरिका २०२१’ ब्राजिलमा हुने पक्का भएको छ।

प्रस्तावित आयोजक राष्ट्रहरू अर्जेन्टिना र कोलम्बिया दुवैलाई ‘कोनमेबोल’ले आयोजक राष्ट्रको सूचीबाट बर्खास्त गरेपछि ब्राजिलले प्रतियोगिता आयोजना गर्ने पक्का भएको हो।

 

सन् २०२० मा आयोजना हुनु पर्ने यस प्रतियोगिता कोरोना महामारीका कारण एक वर्ष यता कोलम्बिया र अर्जेन्टिनामा हुने गरी धकेलिएको थियो। यद्यपि कोलम्बियामा जारी राजनीतिक अशान्तिका कारण उसलाई आयोजक राष्ट्रबाट हटाइयो। अर्जेन्टिनामा पनि कोरोना महामारीको बढ्दो आक्रान्तले अन्तिम समयमा आयोजक राष्ट्रनै परिवर्तन गर्नु परेको हो।

दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय ‘कोनमेबोल’ले सोमवार प्रतियोगितालाई ब्राजिलमा सार्ने निर्णय गरेको छ। कोपा अमेरिका २०२१ आगामी ‘जुन १३’ देखि ‘जुलाई १०’ सम्म खेलिने छ।

सन् २०१९ मा पछिल्लो पटक आयोजना भएको कोपा अमेरिका ब्राजिलमै खेलाइएको थियो। उक्त प्रतियोगिता ब्राजिलले नै जितेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?