काठमाडौं। रोजर फेडेररले सोमवार राति ‘फ्रेन्च ओपन’को पहिलो चरणको खेलमा जित हासिल गरेका छन्।
उज्बेकिस्तानका ‘डेनिस इस्टोमान’लाई ६-२, ६-४, ६-३ को सेटमा पराजित गर्दै २० पटक ‘ग्रान्ड स्ल्याम’ विजेता फेडेरर फ्रेन्च ओपनको दोस्रो चरणमा प्रवेश गरेका छन्।
लामो समयदेखि इन्जुरीका कारण खेल बाहिर रहेका फेडेररले करिब ५०० दिन पश्चात ‘ग्रान्ड स्ल्याम’ खेल खेलेका हुन्। तर फेडेररको खेल हेर्दा लाग्थ्यो कि उनी टेनिसबाट कहिले बाहिरिएकै थिएनन्। उनले इस्टोमिन विरुद्धको खेलमा ४८ ‘विनर’विरुद्ध २० ‘अनफोर्सड एरर’ निकाले। त्यस्तै उनले आफ्नो पहिलो ‘सर्भ’मा ७१ प्रतिशत नतिजा निकाले भने दोस्रो ‘सर्भ’मा ८० प्रतिशत नतिजा निकाल्न सफल भए।
आफ्नो ३६३औं करियर जित हासिल गरेका फेडेररले आफ्नो ‘फर्म’ खोज्दै गरेको अवस्थामा पनि उत्कृष्ट टेनिस खेलको नमुना प्रस्तुत गरे। फेडेररको लागि ‘फ्रेन्च ओपन’ अभ्यासको रूपमा रहनेछ।
‘फ्रेन्च ओपन’को २ साता पछि शुरु हुने ‘विम्बेल्डन’ प्रतियोगिता उनको मुख्य प्राथमिकता रहनेछ। ८ पटक ‘विम्बेल्डन’ विजेता फेडेरर आफ्नो ‘ग्रान्ड स्ल्याम’ संख्या बढाउने दाउमा हुनेछन्।
अहिलेसम्म फेडेरर र नाडालको समान २० ‘ग्रान्ड स्ल्याम’ उपाधि रहेको छ। उनीहरूलाई पछ्याउँदै नोभाक जोकोभिच १८ ‘ग्रान्ड स्ल्याम’ उपाधिमा रहेका छन्। ‘क्ले कोर्ट’का राजा भनेर चिनिने नाडाल यस ‘फ्रेन्च ओपन’ प्रतियोगितामा जित निकाल्दै फेडेररलाई उछिन्ने मौकाको पर्खाइमा छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया