टेकसिँह धामी, धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा कोभिड–१९ संक्रमण संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढी देखिएको छ ।
सो अबधिमा १ हजार ३ सय २८ सङ्क्रमित घर फर्किएका छन् भने ३२८ संक्रमित थपिएका छन् ।
स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार प्रदेशमा हालसम्म मृतकको सङख्या ५१६ जना पुगेको छ । प्रदेशको जनसङ्ख्या २५लाख ५२ हजार ५१७ मध्ये आज सम्म दुई लाख ३४ हजार ६३२ जनाको भाइरसको नमूना परीक्षण गरिसकिएको छ ।
प्रदेशका विभिन्न १२ अस्पतालका भेन्टिलेटरमा आठ, सघन उपचार कक्षमा १४ र कोभिड वार्डमा ३६ बिरामी उपचाररत् छन् । कोरोना भाइरसका सक्रिय सङ्क्रमित पछिल्ला दिनमा घट्दै गएका छन् । एक हप्ता अघिसम्म प्रदेशमा दश हजार ५२ जना सक्रिय सङ्क्रमित रहेकोमा आज यो सङ्ख्या घटेर पाँच हजार २७३ पुगेको छ ।
दोस्रो लहरको कारोना भाइरस फैलिदेखि यही जेठ ७ गते एकै दिन प्रदेशमा सबै भन्दा बढी ९८४ नयाँ सङ्क्रमित थपिएका थिए । साथै सबै भन्दा बढी ३१ जना सङ्क्रमितको मृत्यु भएको थियो । यसै बीच कैलाली र कन्चनपुर जिल्लामा स्थानीय प्रशासनद्वारा जारी निषेधाज्ञाको अबधि यही जेठ ३१ सम्म थपिएको छ ।
थप चार संक्रमितको मृत्यु, ३२८ जनामा संक्रमण
सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । कैलालीका २ जना, कञ्चनपुर र बझाङका १÷१ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
प्रदेशभर हालसम्म कोरोना संक्रमणबाट ५१६ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ३२८ जनामा संक्रमण पुष्टि भएको छ । एन्टिजेन विधिबाट एक हजार ५५१ जनाको परीक्षण गर्दा १४५ र पीसीआर विधिबाट ७८२ जनाको परीक्षण गर्दा १८३ जना गरी ३२८ जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको कुल संख्या ४० हजार ५७६ पुगेको छ ।
निषेधाज्ञाको प्रभाव
कैलाली र कञ्चनपुरमा स्थानीय प्रशासनले दोस्रो लहरको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरेका थिए । पटक पटक गरेर निषेधाज्ञा लम्ब्याएकै कारण अहिलेको अवस्था सिर्जना भएको चिकित्सकहरूले बताएका छन् ।
कोरोना संक्रमण कम हुनुको प्रमुख कारण निषेधाज्ञा नै भएको सेती प्रादेशिक अस्पतालका डाक्टर निराजनदत्त शर्मा पौडेल बताउँछन् । ‘मलाई स्थानीय प्रशासनले गरेको निषेधाज्ञाको रिजल्ट अहिले देखिएको जस्तो लाग्छ । मानिसहरूको आवतजावत भएन, एकै ठाउँमा बस्नुपर्यो,’ डा. पौडेलले भने, ‘यसले दुईवटा कुरामा सहयोग पुग्यो, पहिलो मानिस बसेको ठाउँमा के कति केसहरू छन् भनेर पहिचान गर्न सजिलो भयो । दोस्रो आवतजावत नै नभएपछि संक्रमण समुदाय स्तरमा तीव्र रुपमा फैलिन पाएन ।’
तर संक्रमण कम हुँदैमा जोखिम घटेको र अगामी दिनमा नफैलिने भन्ने कुरामा ढुक्क हुनुपर्ने अवस्था नरहेको उनी बताउँछन् ।
‘अब अगामी दिनहरू कस्ता हुन्छन भन्ने कुरा अहिले भन्न त सकिदैन,’ उनले भने, ‘तर यदि अहिले जारी निषेधाज्ञा खोल्ने नै हो भने व्यवस्थित र वैज्ञानिक रुपले खोल्नुपर्छ । तत्कालै एक अर्का जिल्लाबीच सम्पर्क नगराउने र आन्तरिक रुपमा खोल्नसके राम्रो हुन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया