चाइनिज ताइपेइविरुद्ध नेपाल २-० गोलले विजयी

काठमाडौं। ‘फिफा विश्वकप २०२२’ तथा ‘एसिया कप २०२३’ अन्तर्गत आज खेलिएको चाइनिज ताइपेइविरुद्धको खेलमा नेपालले २-० गोलको जित निकालेको छ।

कुवेतको ‘जबर अल अहमद अन्तराष्ट्रिय रंगशाला’मा भएको खेलमा नेपालका लागि अन्जन विष्ट र नवयुग श्रेष्ठले गोल गर्न सफल भए।

खेलको तेस्रो मिनेटमा नै अन्जन विष्टको पेनाल्टी गोलमार्फत नेपालले अग्रता लिन सफल भएको थियो। मिडफिल्डर सन्तोष तामाङले प्रहार गरेको फ्रिकिक ‘डि बक्स’ भित्र ताइपेइको खेलाडीको हातमा लाग्दा नेपालले पेनाल्टी पाएको थियो। सो पेनाल्टीलाई अन्जन विष्टले ‘राईट टप कर्नर’मा गोलमा परिणत गर्दा नेपालले अग्रता लिएको हो।

शुरुवाती ४५ मिनेटको अधिकांश समय नेपालले बलमा हैकम जमाए पनि खेलमा अरु कुनै गोल हुन नसक्दा मध्यान्तरसम्म नेपालले १-० को अग्रता लिन सफल भयो।

दोस्रो हाफको शुरुवातमा नेपालले खेलाडी परिवर्तन गरेको थियो। आशिष लामाको स्थानमा मनिष डाँगी मैदान प्रवेश गरेका थिए। खेलको ५४औं मिनेटमा सन्तोष तामाङले गरेको प्रहार पोस्ट बाहिर पुग्दा नेपालले खेलमा गोल थप्न सकेन।

खेलको ६४ औं मिनेटमा गौतम श्रेष्ठले ‘डि बक्स’ बाहिर चाइनिज ताइपेइका खेलाडीलाई फल गर्न पुग्दा ताइपेइले फ्रिकिकको अवसर पाएको थियो। त्यसपछिको लगभग १५ मिनेटको खेलमा ताइपेइ बलियो देखिएको थियो।

खेलको ८०औं मिनेटमा मनिष डाँगीले उत्कृष्ट ‘फुटवर्क’ देखाउँदै प्रहार गरेको शट पोस्ट माथिबाट बाहिरियो। दोस्रो हाफको ८१ औं मिनेटमा सुमन अर्यालको क्रासलाई नवयुग श्रेष्ठले उत्कृष्ट ‘पोचर्स गोल’ गर्दै नेपालको अग्रता दोब्बर बनाए। नवयुग श्रेष्ठ खेलको ६९औं मिनेटमा सुनिल बलको स्थानमा मैदान प्रवेश गरेका थिए।

खेलको दोस्रो हाफमा चाइनिज ताइपेइले केही अवसरहरु सिर्जना गरेपनि त्यसलाई गोलमा परिणत गर्न भने सकेन। उता नेपालले ९० मिनेटको खेलमा कुल ३४ शट प्रहार गरेको थियो। जसमध्ये १६ शट ‘अन टार्गेट’ रहेका थिए।

चाइनिज ताइपेइविरुद्धको जितसंगै नेपालले समुह ‘बी’ मा ६ अंक जोडेको छ। चौथौं स्थानमा रहेको नेपालले ‘जेष्ठ २४’ गते जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?