फेडेरर, नाडाल र जोकोभिच फ्रेन्च ओपनको अन्तिम १६ मा

काठमाडौं।  जारी फ्रेन्च ओपन प्रतियोगितामा पुरुषतर्फ रोजर फेडेरर, रफाएल नाडाल र नोभाक जोकोभिच चौथौं चरणमा प्रवेश गरेका छन्।

शनिवार राति खेलिएका खेलमा टेनिस जगतका तीन जना सुपरस्टार खेलाडीले नै आ-आफ्नो खेलमा जित हासिल गरेका छन्।

विश्व नम्बर १ सर्बियन खेलाडी नोभाक जोकोभिचले लिथुआनियन रिकर्डास बेराङकिसलाई ६-१, ६-४ र ६-१ को सोझो सेटमा पराजित गरेका हुन्। ‘फिलिप च्याटरियर कोर्ट’मा खेलिएको खेलमा जोकोभिचले ५ एस प्राप्त गरे।

शनिवार राति नै भएको अर्को खेलमा सर्वाधिक फ्रेन्च ओपन विजेता रफाएल नाडालले बेलायतका क्यामरुन नोरीलाई पराजित गरेका हुन्। नाडालले नोरीमाथि ६-३, ६-३ र ६-३ को जित निकाले। ‘कोर्ट सुज्यान लेङलेन’मा भएको खेलमा नाडालले कुल ९२ अंक जितेका थिए।

त्यस्तै विश्वकै उत्कृष्ट मध्येका एक रोजर फेडेररले पनि तेस्रो चरणको खेलमा जित निकाल्दै आफ्नो करियर को ७६५औं जित प्राप्त गरेका छन्। ‘टाई ब्रेकर’ले भरिएको खेलमा उनले जर्मनीका डोमिनिक कोइपफरलाई ७-६ (७/५), ६-७ (३/७), ७-६ (७/४), र ७-५ को गार्हो सेटमा पराजित गर्दा चौथौं चरणको यात्रा सुनिश्चित गरेका हुन्। ३ घण्टा ३९ मिनेट चलेको सो खेलमा फेडेररले ११ एस प्राप्त गर्दा १०३ सर्भिस अंक पनि प्राप्त गरेका थिए।

अन्तिम १६ को खेलमा अब तिनै जनाले इटालियन प्रतिद्वन्दीसँग भिडन्त गर्नेछन्। जोकोभिचले लोरेन्जो मुसेटीको सामना गर्ने छन् भने नाडालले विश्व नम्बर १६ का यानिक सिनरसँग प्रतिस्पर्धा गर्ने छन्। उता फेडेररले भने आफू भन्दा मात्र १ वरियता तल रहेका म्याटियो बेरेन्टिनीको सामना गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?