काठमाडौं। नेपाली लेगस्पिनर तथा ग्लोबल आइकन सन्दीप लामिछानेले बेलायतमा आयोजना हुने भाइटालिटी टी-ट्वेन्टी ब्लास्ट प्रतियोगिता गुमाउने लगभग निश्चित भएको छ।
भाइटालिटी टी-ट्वेन्टी ब्लास्टमा पहिलो पटक अनुबन्धित भएका सन्दीपले ‘वारचेस्टरसायर’बाट क्रिकेट खेल्न पक्का भएको थियो। तर नेपालमा दोस्रो लहरको कोरोना भाइरसको आक्रान्त दैनिक रूपमा बढ्दै जाँदा अन्तराष्ट्रिय उडानमा लगाइएको रोक र भिसा आउन ढिलाईका कारण सन्दीपले प्रतियोगिता नै गुमाउने अवस्था सिर्जना भएको छ।
आगामी जुन ९ देखि सेप्टेम्बर १६ सम्म आयोजना हुने प्रतियोगितामा सहभागी हुन सन्दीपले शुक्रवार भिसा पाए पनि १४ दिने क्वारेन्टाइनको नियमले गर्दा शुरुवातका खेलहरु गुमाउने निश्चित नै भइसकेको छ। खेलाडीले शुरुका ५-६ खेल गुमाउने भएपछि टिमले अर्को खेलाडी अनुबन्धन गर्ने सम्भावना धेरै हुन्छ। सन्दीपले ट्विटरमा आफ्नो दुखेसो पोख्दै ‘अब धेरै ढिला’ भनेर ट्वीट पनि गरेका छन्।
त्यसकारण सन्दीपको फोकस अब ‘द हन्ड्रेड’ प्रतियोगितामा हुनेछ। जुलाई २१ देखि शुरू हुने ‘द हन्ड्रेड’मा सन्दीप ओभल इनभिन्सिबल्सबाट खेल्ने छन्। सो प्रतियोगितामा सन्दीपले स्याम करन, टम करन, जेसन रोय, स्याम बिलिङस र सुनिल नराइन लगायतका खेलाडीसँग एउटै टोलीबाट खेल्ने छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया