बज्रवाराहीको आइसोलेसन सेन्टरलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

काठमाडौं । मकवानपुरको थाहा नगरपालिका ६ स्थित कोभिड १९ आइसोलेसन सेन्टरलाई ५ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिएको छ। लामो समयदेखि काठमाडौंमा बसोबास गर्दै आएका बज्रवाराहीका बच्चु गोपालीले अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेका हुन् ।

अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण कार्यक्रममा बोल्दै थाहा नगरपालिका ६ का वडाध्यक्ष शशिधर सुवेदीले कोरोना संक्रमितको उपचारमा थप राहत मिलेको बताए । वडाध्यक्ष सुवेदीले हरेक नेपालीले आफ्नो जन्मभूमिलाई माया गर्नुपर्ने बताउँदै गोपालीलाई धन्यवाद ब्यक्त गरे ।

सुवेदीले स्थानीयस्तरमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन प्रभावकारी ढंगले योजना बनाएर कार्यान्वयनमा लागेको जानकारी दिए । विरामीको परिक्षण, कन्ट्याक्ट ट्रेसिङ र संक्रमितको उपचारलाई प्राथमिकतामा राखेर काम गरिरहेको सुवेदीको भनाइ छ।

कोभिड -१९ को नयाँ भेरियन्टसहितको दोस्रो लहरका बिरामीको संख्या बढेपछि स्थानीयको स्वास्थ्यलाई ध्यानमा राखेर अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको गोपालीले जानकारी दिए । गोपालीले आगामी दिनमा पनि आफूले सकेको सहयोग जारी राख्ने प्रतिबद्धता ब्यक्त गरे।

पछिल्लो तथ्यांक अनुसार थाहा नगरपालिकामा सक्रिय संक्रमितको संख्या ५ सय ५५ जना रहेका छन् । थाहानगरमा कोरोनाको दोस्रो भेरियन्टबाट ८ जनाको मृत्यु भएको छ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ४ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ६ हजार ९ सय ५१ जना कोरोना संक्रमण मुक्त भएका छन् । हालसम्म कोरोना संक्रमण मुक्त हुनेको कूल संख्या ४ लाख ९७ हजार ९ सय ६० पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ९२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७ हजार ९ सय ९० पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?