टिक्ला त माओवादी नेतृत्वको सुदूरपश्चिम सरकार ?

टेकसिँह धामी, धनगढी । माओवादी केन्द्र नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार टिकाउन र हटाउन दुवै तवरले कसरत सुरु भएको छ । प्रदेश सभामा सबैभन्दा ठूलो दल नेकपा एमालेको एक पक्ष (माधव नेपाल समूह) ले सरकार जोगाउन र अर्को पक्ष (केपी शर्मा ओली समूह)ले सरकार गिराउन कसरत सुरु गरेका हुन् ।

सत्तापक्षसमेत रहेको एमाले (ओली समूह) का सासंदले संसदमै मुख्यमन्त्रीको राजीनामा माग गरेका थिए । त्यसपछि मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मतका लागि प्रदेश सभा सचिवालयमा पत्र दर्ता गरिसकेका छन् । पत्र दर्तापछि सोमबार कार्य व्यवस्था समितीको बैठक बसेको थियो । मुख्यमन्त्री भट्ट भोलि ९ बजे हुने प्रदेश सभा बैठकमा विश्वासको मत लिने तयारीमा छन् ।

विश्वस्त छन् मुख्यमन्त्री

मुख्यमन्त्री त्रिलोचन भट्ट मंगलबार विश्वासको मत लिँदै छन् । नेकपा माओवादी केन्द्रका तर्फबाट मुख्यमन्त्री बनेका भट्ट विश्वासको मत पाउनेमा विश्वस्त देखिएका छन्। भट्टले विश्वासको मत पाउनेमा पूर्ण विश्वस्त रहेको माओवादीका प्रमुख सचेतक अक्कल रावलको दाबी छ । ‘एमालेले समर्थन गर्छ । कांग्रेस पनि छलफलमा छ’, उनले भने, ‘मुख्यमन्त्रीले विश्वासको मत पाउनुहुन्छ ।’ उनले एमाले र माओवादीको गठबन्धन भएर नै केही दिन पहिले मन्त्रिमण्डल पुनर्गठन गरिएको बताए । जेठ १४ गते मुख्य मन्त्री भट्टले मन्त्रिमण्डल पुनर्गठन गरेका थिए ।

उनलाई नेकपा एमालेको साथ रहेको छ । एमालेभित्र पनि केपी ओली पक्षधर सांसदको भने असहमति रहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि आह्वान गरिरहेका बेला विश्वासको मत लिन लागेका मुख्य मन्त्री भट्ट आफ्नो समर्थन यथावत नै रहनेमा ढुक्क भएका हुन् । प्रदेशमा सुरुदेखि तत्कालीन नेकपाको सरकार रहेको थियो ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पुरानै पार्टीमा ब्यूँताएपछि पनि एमालेको साथ यथावत नै रहेको छ । तर एमालेभित्रको पार्टी विवादले ओली पक्ष सांसदले समर्थन फिर्ता लिएको बताएका छन् । तर माधव पक्षीय सांसदले भने आफ्नो समर्थन जारी नै राखेपछि भट्ट नेतृत्वको सरकारले निरन्तरता पाएको छ ।

एमालेमा किचलो

केन्द्रले समर्थन फिर्ता लिइसकेको सरकारलाई समर्थन दिने कि नदिने भन्ने विषयमा एमालेभित्र तीव्र अन्तरविरोध देखिएको छ । माधव नेपाल पक्षका प्रदेशसभा सदस्यहरू अहिलेसम्म समर्थन कायम राख्नुपर्छ भन्ने अडानमा छन् । तर आली पक्षका सांसदहरू भने केन्द्रको निर्देशन मानेर समर्थन फिर्ता लिनुपर्ने बताउँछन् ।

सुदूरपश्चिम प्रदेशमा सभामुखबाहेक एमालेभित्र नेपाल पक्षका १४ जना र ओली पक्षका ९ जना प्रदेशसभा सदस्य छन् । नेपाल पक्षमा रहेका ३ जना प्रदेशसभा सदस्य पछिल्लो समय ओली पक्षमा लागेका छन् । यसअघि १२ जेठमा प्रदेश संसदीय दलले भने यही सरकारलाई निरन्तरता दिने निर्णय गरिसकेको थियो । त्यही निर्णयलाई टेकेर मुख्यमन्त्रीलाई विश्वासको मत दिने गृहकार्यमा नेपाल पक्ष छ । ‘हामीले केही दिनअघि नै सरकारलाई समर्थन कायम राख्ने निर्णय गरेका छौँ । त्यही निर्णय कार्यान्वयन हुन्छ’ नेपाल पक्षका एक सांसदले भने ।

तर ओली पक्षका सांसदहरू भने कुनै पनि अवस्थामा सरकारलाई समर्थन दिन नहुने बताउँछन् । प्रदेश सभामा एमालेबाहेक माओवादी केन्द्रका १३, नेपाली काँग्रेसका १२ र जनता समाजवादी पार्टीका दुई जना प्रदेश सभा सदस्य छन् ।

मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न एमालेको निर्देशन
नेकपा एमाले सुदूरपश्चिम प्रदेशले मुख्यमन्त्री त्रिलोचन भट्टको विपक्षमा मतदानका लागि ह्वीप जारी गर्न पार्टी संसदीय दललाई निर्देशन दिएको छ । प्रदेश अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले संसदीय दलका नेता प्रकाश शाह र प्रमुख सचेतक दुर्गा विकलाई सो निर्देशन सहितको पत्र पठाएका छन् ।
त्यस्तै प्रदेश कमिटीले सबै प्रदेश सभा सदस्यहरुलाई विपक्षमा मतदान गर्न निर्देशन दिँदै छुट्टछुट्टै पत्र काटेको राजेन्द्र रावलले जानकारी दिए ।

एमालेको ओली पक्षले मुख्यमन्त्रीको विपक्षमा मतदान गर्ने जनाए पनि माधव समूहले भने पक्षमा मतदान गर्ने दाबी गरेको थियो । पार्टीको ह्विप के गर्ने भन्नेबारे माधव समूहको आधिकारिक धारणा आएको छैन ।

काँग्रेस अलमलमै

काँग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले विश्वासको मत दिने वा नदिने कुनै निर्णय नभएको बताए । ‘आज दुई पटक प्रदेश सभा बैठकमै व्यस्त भइयो,’ उनले भने, ‘भोलि विहान संसदीय दलको बैठक बोलाएका छौ । त्यसपछि मात्रै टुंगोमा पुग्छौ ।’
यस्तो छ अंकगणित

५२ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा एमालेका २४ माओवादीका १३, कांग्रेसका १२ र जनता समाजवादी पार्टी जसपाका २ जना सांसद छन् । विश्वासको मत लिन २७ संसदको समर्थन चाहिन्छ । माधव नेपालका संसदहरूले मुख्यमन्त्रीलाई मत दिए सरकार जोगिने छ । नेपाली कांग्रेस र जसपाले भने अझै के गर्ने भन्ने निर्णय गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?