जोर्डनद्वारा नेपाल पराजित

काठमाडौं। फिफा विश्वकप २०२२ को छनौट खेल अन्तर्गत नेपाल जोर्डनसँग ३-० गोलले पराजित भएको छ।

कुवेतको ‘जबर अल-अहमद अन्तराष्ट्रिय रंगशाला’मा खेलिएको आजको खेलमा बलियो टोली जोर्डनले नेपालविरुद्ध सहज जित प्राप्त गरेको छ।

पहिलो हाफको २३औं मिनेटमा जोर्डनले पेनाल्टी गोल मार्फत आफ्नो खाता खोलेको थियो। नेपालका रक्षक रोहित चन्दले आफ्नो ‘डि-बक्स’ भित्र जोर्डनका मुसा सुलेमानलाई लडाउन पुग्दा मलेसियाका रेफ्री मोहम्मद अमिरूल इस्लामले जोर्डनलाई पेनाल्टी प्रदान गरेका थिए।

सो मौकालाई जोर्डनका स्ट्राइकर बहा फैजलले कुनै गल्ती नगरी गोलमा परिणत गरेका थिए। पहिलो हाफमा जोर्डनले अधिकांश समय बल पोसेसनमा हैकम जमाए पनि गोल भने थप्न सकेको थिएन।

दोस्रो हाफको खेलको कथा अर्कै रह्यो। जोर्डनले खेलमा दबदबा बनाइ राख्दा दुई गोल पनि थप्यो। दोस्रो हाफको ४८औं मिनेटमा जोर्डनले दोस्रो गोल थप्यो। स्ट्राइकर फैजलले खेलमा व्यक्तिगत दोस्रो गोल गर्दा जोर्डनले अग्रता दोब्बर बनाएको थियो।

फैजलको यो जोर्डन राष्ट्रिय टोलीको लागि १३औं गोल रहेको छ। त्यसपछि ६७औं मिनेटमा जोर्डनले अग्रता बढायो। येजान अल एहमतको शानदार क्रसमा येजान अल अरबले उत्कृष्ट हेडर गोल गर्दा जोर्डनको अग्रता तेब्बर भएको थियो।

जवाफमा नेपालले केही अवसरहरु सिर्जना गरेपनि मौकाको फाइदा उठाउन नसक्दा खेलमा कुनै गोल गर्न सकेन। जोर्डनविरुद्धको यस हार पछि नेपालको विश्वकप २०२२ को यात्रा टुंगिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?