पाँचथर जिल्ला अस्पताललाई स्तरोन्नति गर्न मुख्यमन्त्रीलाई मन्त्री नेम्वाङको पत्र

पाँचथर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले पाँचथर जिल्ला अस्पताललाई १०० शैयाको अस्पतालमा स्तरोन्नति गर्न प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईलाई आग्रह गरेका छन ।

मंगलवार मुख्यमन्त्री राईलाई पत्र पठाउँदै पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधिसभा सदस्य समेत रहेका मन्त्री नेम्वाङले पाँचथर सहित तेह्रथुम, ताप्लेजुङ र इलामका सर्वसाधारणले सेवा लिने पाँचथर जिल्ला अस्पतालको स्तरोन्नति अत्यावाश्यक रहेकाले स्तरोन्नति गरी बजेटको व्यवस्था गरिदिन आग्रह गरेका हुन् ।

मन्त्री नेम्वाङले पूर्वाधार समेत तयार भएकाले पाँचथर अस्पताललाई १०० शैयामा स्तरोन्नतिको नीतिगत निर्णय र बजेटको प्रवन्ध आगामी आर्थिक वर्ष २०७८/०८९ को नीति, कार्यक्रम तथा बजेटमार्फत गर्न समेत मुख्यमन्त्री राईलाई आग्रह गर्नुभएको छ । उक्त पत्र प्राप्त भएपछि मुख्यमन्त्री राईले मन्त्री नेम्वाङको आग्रह र पाँचथर जिल्ला अस्पतालमा सेवाग्राहीको चापका आधारमा उपयुक्त निर्णय लिने बचनदिएको मन्त्री वसन्तकुमार नेम्वाङका स्वकीय सचिव गणेश योङहाङले जानकारी दिए ।

पाँचथरसहित तीन छिमेकी जिल्ला इलाम, तेह्रथुम र ताप्लेजुङका सेवाग्राहीले सेवा लिने गरेको जिल्ला अस्पतालको स्तरोन्नति अत्यावाश्यक रहेको मन्त्री नेम्वाङले बताउँदै आएका छन् । ५० शैयाका लागि भवन लगायत संरचना समेत निर्माण भइरहेको जिल्ला अस्पतालको शैया विस्तारको नीतिगत निर्णय हालसम्म हुन सकेको छैन् । २५ शैय्या सञ्चालित अस्पताल नीतिगत रुपमा १५ शैयाको मात्रै छ । दुई साताअघि जिल्लाका सरोकारवालाहरुसँग आयोजित भर्चुअल बैठकमा मन्त्री नेम्वाङले जिल्ला अस्पतालको स्तरोन्नतिलाई आफूले मुख्य प्राथमिकतामा राख्ने बताएका थिए । कोभिड–१९ सङ्क्रमणको महामारीमा जुध्न पाँचथर सहित पूर्वी पहाडमा संरचना नै कम र अप¥याप्त भएकाले यो अस्पतालको स्तरोन्नतिमार्फत उक्त समस्या समाधान गर्नुपर्ने मत मन्त्री नेम्वाङले राख्दै आएका छन् ।

मन्त्री नेम्वाङकै पहलमा गत वर्ष जिल्ला अस्पतालमा आइसीयू र भेण्टिलेटर जडानका लागि प्रधानमन्त्री कोभिड–१९ आकस्मिक कोषबाट दुई करोड बजेट छुट्टयाई संरचना निर्माणको प्रकृया अगाडि बढेको अस्पताल विकास समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटाले जानकारी दिए । २०० शैयाभन्दा कम क्षमताका अस्पताल प्रदेश सरकार मातहत रहने नीतिगत व्यवस्था छ ।

सोही व्यवस्थाबमोजिम पूर्वी पहाडमा धेरै सेवाग्राहीले सेवा लिने पाँचथर अस्पतालको स्तरोन्नति गर्न मन्त्री नेम्वाङले पहल लिएका उनको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?