काठमाडौं। फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनौट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल एसियाली ‘पावर हाउस’ अस्ट्रेलियासँग ३-० गोलले पराजित भएको छ।
कुवेतको ‘जबर अल-अहमद अन्तराष्ट्रिय रंगशाला’मा १० खेलाडीमा सिमित नेपाल र ५ पटक विश्वकप फुटबल खेलिसकेको अस्ट्रेलिया बिच भएको खेलमा नेपालले राम्रो डिफेन्डिङ गर्यो।
पहिलो हाफको ६औं मिनेटमा नै अस्ट्रेलियाले खेलमा अग्रता लिएको थियो। ‘फुल ब्याक’ अजीज बेहिचको क्रसमा कप्तान म्याथ्यु लेकीले हेडर गोल गर्दा अस्ट्रेलियाले खेलमा अग्रता लिन सफल भएको थियो।
त्यसपछि पहिलो हाफको अधिकांश समय राम्रो डिफेन्डिङको नमुना प्रस्तुत गरेको नेपालले ३८औं मिनेटमा दोस्रो गोल खान पुग्यो। यसपाली कप्तान लेकीको पासमा डिफेन्डर फ्रान काराचिचले गोल गर्दै अस्ट्रेलियाको अग्रतालाई दोब्बर बनाएका थिए।
नेपालको दुःख पहिलो हाफको अन्तिम मिनेटमा अझै बढ्यो। ४५औं मिनेटमा नेपालका प्रमुख डिफेन्डर रोहित चन्दले अस्ट्रेलियाका स्ट्राइकर मार्टिन बोइललाई फल गर्न पुग्दा ओमानका रेफ्रीले रोहितलाई सोझै रातो कार्ड देखाए।
१० खेलाडीमा सिमित नेपाली टोलीलाई बलियो टोली अस्ट्रेलियाविरुद्ध दोस्रो हाफको खेल निकै चुनौतीपूर्ण रहने निश्चित थियो। तर १० खेलाडीमा सिमित रहँदा पनि नेपालले अस्ट्रेलियाविरुद्ध दोस्रो हाफमा राम्रो डिफेन्डिङ गर्यो।
यद्यपि खेलको ५७औं मिनेटमा अष्ट्रेलियाका स्ट्राइकर मार्टिन डोइलले अस्ट्रेलियाको अग्रतालाई तेब्बर बनाए। उनले ज्याक्सन इरविनको पासमा ‘टो पोक’ गोल गर्दा अस्ट्रेलियाले खेलमा ३-० गोलको अग्रता लिएको हो।
खेलको अधिकांश समय अस्ट्रेलियाको टोलीले बल पोसेसनमा हैकम जमाउन सफल भयो। लगभग ७० प्रतिशत पोसेसन आफ्नो पक्षमा पारेको अस्ट्रेलियाले खेलमा कुल २८ शट प्रहार गर्यो। कप्तान किरण चेम्जोङले खेलमा उत्कृष्ट बचाउहरु गरे। अस्ट्रेलियाले १२ शट अन टार्गेटमा प्रहार गर्दा किरणले खेलमा ९ सेभ गरेका थिए।
नेपालका लागि ६१ औं मिनेटमा मैदान प्रवेश गरेका मनिष डाँगीले केही अवसरहरु सिर्जना गर्ने प्रयास गरे। तर विश्व वरियतामा ४१औं स्थानमा रहेको अस्ट्रेलियाको अगाडि नेपालले फलदायी अवसर बनाउन भने सकेन। नेपालका लागि आयुष घलान, सुरज जिउ ठकुरी र कमल थापाले डेब्यू गरे। खेलको ९०औं मिनेटमा नेपालका युवा खेलाडीहरुले डेब्यू गर्ने मौका पाएका हुन्।
एसियाली पावर हाउस अस्ट्रेलियाविरुद्ध नेपालले पहिलो लेगमा ५-० को हार बेहोरेको थियो। आजको खेलमा भने नेपालले राम्रो खेल खेलेको देखियो। नेपाली टोलीको ‘जोनल डिफेन्डिङ’मा निकै परिवर्तन आएको पनि देखियो।
यसैबिच अस्ट्रेलियाविरुद्धको यो खेल नेपाली खेलाडीहरुका लागि अविस्मरणीय रहने पक्का रहेको छ। अझै ४५ मिनेट भन्दा बढीको समय १० खेलाडीमा सिमित रहेको नेपाली टोलीले स्मरणीय अनुभव प्राप्त गरेको छ। अस्ट्रेलियाविरुद्धको यस खेलले नेपाली टोलीलाई नयाँ ऊर्जा र आत्मविश्वास प्रदान गर्नेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया