बागमती प्रदेश सभाको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

शनिवार बागमतीको आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम पारित भएको हो ।

गत बिहीवार प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा शुक्रवार र शनिवार भएको छलफल भएको थियो ।

छलफलमा सत्तापक्ष र प्रतिपक्षका ४५ जना सांसदहरु सहभागी भएका थिए । छलफलमा सहभागी सत्तापक्षका सांसदहरुले प्रदेश सरकारले तयार पारेको आगामी आर्थिक वर्षका लागि तयार पारेका नीति तथा कार्यक्रमको विभिन्न बुँदाहरुमा संशोधनका लागि सुझाव पेश गरेका थिए ।

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रसहित प्रतिपक्ष दलले सरकारले पुरानै कार्यक्रमलाई निरन्तरता दिएको र कुनै ठोस कार्यक्रम ल्याउन नसकेको भन्दै प्रदेश सरकारले हावामा नीति तथा कार्यक्रम ल्याएको बताएका थिए ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षको सरकार रहेको बागमतीमा वरिष्ठ नेता नेपाल पक्षले समेत साथ दिएका थिए । बागमतीको एमले संसदीय दलको नेता समेत रहेका मुख्यमन्त्री डोरमणी पौडेलले नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्नका लागि निर्देशन दिएका थिए । यता नेपाल पक्षकी सांसद अष्टलक्ष्मी शाक्यले पनि आफू पक्षका सांसदहरुलाई नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्नका लागि आग्रह गरेका थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?