धनगढी । गाँजा खेतीको वैधानिकताका लागि सुदूरपश्चिम प्रदेशसभामा आवाज उठेको छ । सुदूरपश्चिम प्रदेशसभाकी सांसद देवकी मल्लले गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने बताएकी हुन् । प्रदेशसभा बैठकमा बोल्दै माओवादी केन्द्रकी सांसद मल्लले सुदूरपश्चिममा गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने बताएकी हुन् ।
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद मल्लले भनिन्, ‘आयस्रोत, जीवन निर्वाहका लागि गाँजा खेती जरुरी छ । सुदूरपश्चिममा सबैजसो ठाउँमा फाट्टफुट्ट गाँजा खेती गर्ने चलन छ । खासगरी बझाङ र बाजुरामा परम्परादेखि निकै ठूलो मात्रामा गाँजा खेती हुने गर्छ । सुदूरपश्चिमका लागि असाध्यै महत्वपूर्ण रहेको गाँजा खेतीलाई कसरी वैधानिक बनाउन सकिन्छ, प्रदेश सरकारले धारणा बनाएर आवश्यक परे केन्द्र सरकारसँग पनि पहल गरोस् ।’उनले आयस्रोत बढाउन र जीवन निर्वाहका लागि गाँजा खेती जरुरी रहेको बताइन् ।
नेपालमा गाँजा खेती प्रतिबन्धित छ । सन् १९७६ मा लागूऔषध नियन्त्रण सम्बन्धी कानुन बनाएपछि गाँजा खेती प्रतिबन्धित भएको हो । गाँजाको खेती, भण्डारण, सेवन र बिक्रि वितरणलाई अवैधानिक र दण्डनीय अपराध मानिएको उक्त ऐन अनुसार २५ बोट गाँजा खेती गर्नेलाई तीन महिनासम्म कैद वा तीन हजारसम्म जरिवाना हुने व्यवस्था छ । त्यो भन्दा बढी खेती गर्नेलाई तीन वर्षसम्म कैद र पाँच हजार जरिवाना हुनसक्ने नियम छ । तर, सुदूरपश्चिमका अधिकासं जिल्लामा भने लुकीछिपी गाँजाको व्यापार हुँदै आएको छ ।
मल्ल बझाङबाट माओवादी केन्द्रबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया