पाभल्युचेनकोभालाई पराजित गर्दै क्रेजसिकोभाले जितिन् आफ्नो पहिलो फ्रेन्च ओपन उपाधि

काठमाडौं। जारी ‘फ्रेन्च ओपन २०२१’ को महिला तर्फको उपाधि चेक गणतन्त्रकी बारबोरा क्रेजसिकोभाले जितेकी छिन्।

शनिवार सम्पन्न फाइनल खेलमा क्रेजसिकोभाले रसियाकी आनास्तासिया पाभल्युचेनकोभालाई ६-१, २-६, ६-४ को सेटमा पराजित गर्दै आफ्नो पहिलो ‘ग्रान्ड स्ल्याम’ उपाधि जितेकी हुन्।

‘फिलिप च्याटरियर कोर्ट’मा भएको फाइनल खेलमा २५ वर्षीय क्रेजसिकोभाले जम्मा १४ खेल जित्दा कुल ८५ अंक प्राप्त गरिन्। खेलमा २ एस हासिल गरेकी क्रेजसिकोभाले ६ ब्रेक पोइन्ट पनि आफ्नो पक्षमा पार्न सफल भइन्।

क्रेजसिकोभा फ्रेन्च ओपन जित्ने पहिलो चेक गणतन्त्रकी महिला भएकी छिन्। यस अघि सन् १९८१ मा हाना मान्डिलकोभाले चेकसलोभाकियाको लागि यो उपाधि जितेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?