काठमाडौं। कोपा अमेरिका २०२१ अन्तर्गत उत्तरी समूहको पहिलो खेलमा ब्राजिलले विजयी शुरुवात गरेको छ।
स्टार खेलाडी नेयमारले एक गोल र एक असिस्ट गर्दा ब्राजिलले उद्घाटन खेलमा भेनेजुएलालाई ३-० गोलको फराकिलो अन्तरले पराजित गरेको हो।
सोमवार विहान सम्पन्न खेलमा ब्राजिलका लागि पहिलो गोल डिफेन्डर मर्कविनोसले गरेका थिए। २३औं मिनेटमा नेयमारले प्रहार गरेका कर्नर किकलाई भेनेजुएलाका डिफेन्डरहरुले क्लियर गर्न नसक्दा मर्कविनोसले खेलमा पहिलो गोल गर्न सफल भएका हुन्।
दोस्रो हाफको ६४औं मिनेटमा नेयमारले ब्राजिलको अग्रता दोब्बर बनाए। ब्राजिलले प्राप्त गरेको पेनाल्टीलाई उनले सरल तर सुन्दर तरिकाले गोलमा परिणत गर्दा खेलमा ब्राजिलले २-० को अग्रता बनाएको थियो।
त्यसपछि खेलको ८९औं मिनेटमा ब्राजिलले अग्रता तेब्बर बनायो। नेयमारको शानदार पासलाई ग्याब्रिएल बारबोसाले जाली चुमाउँदा ब्राजिलले उद्घाटन खेलमा ३-० को जित निकाल्न सफल भएको हो।
त्यस्तै उत्तरी समूह अन्तर्गत नै भएको दोस्रो खेलमा कोलम्बियाले इकुवेडरलाई १-० गोलले पराजित गरेको छ। कोलम्बियाका लागि एकमात्र गोल एडविन कार्डोनाले गर्न सफल भए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया