कपिलवस्तु । आफ्नै पत्नीको योजनामा नेकपा माओवादी केन्द्रका नेता दिपक पाण्डेको हत्या भएको तथ्य सार्वजनिक भएको छ । नेता पाण्डेकी पत्नी महिमा पाण्डे र उनीसंग अनैतिक सम्वन्ध कायम रहेका कपिलवस्तु नगरपालिका
वडा नंं- १ का ३३ वर्षीय प्रकाश भन्ने ओम प्रकाश यादवको योजनामा नेता पाण्डेको हत्या भएको प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।
विगत २-३ वर्ष देखि पति दिपक पाण्डेलाई हत्या गर्ने योजना बनाएकी उनकी पत्नी महिमा पाण्डेको मुख्य योजनामा गत जेठ ५ गते कपिलवस्तु नगरपालिका वडा नं-६ गोबरी सडक खण्डमा नेता पाण्डेको हत्या भएको प्रहरीले जनाएको छ ।
पत्नी महिमा र ओम प्रकाश दुवै जना मिलेर दिपकको हत्या गर्नका लागि कपिलवस्तु नगरपालिका वडा नंं- २ सागरटोल बस्ने रमजान साह मुसलमान र साकिर अली पखियालाई प्रयोग गरेको गरी उनीहरुबाट हत्या गराएको प्रहरी अनुसन्धानमा खुलेको छ ।
दिपकलाई हत्या गर्ने व्यक्तिहरुलाई हतियार सप्लाई गर्ने गिरोहलाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार दिपकको हत्या गर्नका लागि रकम लिने, बरामद हतियार खरिद विक्री, ओसारपोसार गर्ने, सहयोग गर्ने र अभियुक्तलाई संरक्षण गरेको आरोपमा प्रहरीले कपिलवस्नु नगरपालिका वडा नं- १ कैलाश टोलका ३५ वर्षीय पूर्ण विर पाल्पाली, कपिलवस्तु नगरपालिका वडा नंं- २ वर्दहवा बस्ने सद्दाम हुसेन खान, यशोधरा गाउंपालिका वडा नंं- ४ पोखरभेटवा बस्ने राजेश भन्ने ज्ञानेन्द्र कुमार पाण्डेय, यशोधरा गाउंपालिका वडा नंं- ४ सेमरी बस्ने गोलु भन्ने राधेश्याम चौधरी, कपिलवसतु नगरपालिका वडा नं- ५ गोटिहवा बस्ने सिरिया भन्ने श्रीराम कुर्मी, कपिलवस्तु नगरपालिका वडा नंं- १ मस्जिद टोल बस्ने मोटे भन्ने नसरत अलि र कपिलवस्तु नगरपालिका वडा नंं- २ बरगदवा बस्ने प्रवीण गुप्ता रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका पुर्ण विर उपर नेता पाण्डेको हत्या पछि हत्यामा प्रयोग गरिएको कटुवा पेस्तोल १ थान र २ राउण्ड गोली सहित हत्यारा आरोपि शाकिर अली पखियालाई आफ्नो घरमा राती सुत्न दिई अपराधीलाई संरक्षण गरी उक्त हतियार लुकाई दिएको र उनकै घरबाट सो हतियार बरामद भएको छ । सद्दाम हुसेन खान उपर शाकिर अली पखियालाई हतियार खरिद विक्री गर्ने कार्यमा सहयोग गरेको आरोप छ ।
राजेश भन्ने ज्ञानेन्द्र कुमार पाण्डे उपर गोलु भन्ने राधेश्याम चौधरीलाई भारतबाट हतियार खरिद विक्री गर्ने कार्यमा सहयोग गरेको आरोप छ । गोलु भन्ने राधेश्याम चौधरी उपर साकिर अलि पखियालाई हतियार खरिद विक्री गर्न
सहयोग गरेको आरोप छ । सिरिया भन्ने श्रीराम कुर्मी उपर साकिर अली पखियालाई हतियार खरिद विक्री गर्न सहयोग गरेको आरोप छ । मोटे भन्ने नसरत अली उपर प्रकाश भन्ने ओम प्रकाश यादवबाट १ लाख रुपैया लिई हतियार खरिद
गरी ओम प्रकाश यादवलाई उपलब्ध गराएको आरोप छ । प्रवीण गुप्ता उपर मोटे भन्ने नसरत अलीबाट ३७ हजार रुपैया नगद लिई साकिर अली पखियाबाट हतियार लिई ओम प्रकाश यादवलाई हतियार दिएको आरोप छ ।
नेता पाण्डेको हत्याको अनुसन्धानका लागि प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीको नेतृत्वको प्रहरी टोली माईक ह्स्किी नामको अप्रेशनमा खटिएको थियो । अप्रेशनले घटना घटेको १ महिना नवित्दै घटनाका मुख्य योजनाकार
सहितका अन्य संलग्न सवै १० जना पक्राउ गर्न सफल भएको छ ।
३ वटा पेस्तोल सहित हतियार कारोवारमा संलग्न व्यक्तिहरु सहित पक्राउ परेका कारण जिल्लामा अपराधका घटनामा कमी आउन सक्ने अनुमान गरिएको छ । प्रहरीको यो अप्रेशनलाई जिल्लाका सवै राजनैतिक दल, नागरिक समाज र आम सर्वसाधारणले ठुलो प्रशंसा समेत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया