धनगढी । लगातारको वर्षाका कारण सुदूरपश्चिमका विभिन्न ठाउँका सडकखण्डमा पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ । डोटीको भीमदत्त राजमार्ग, बझाङको जयपृथ्वी राजमार्ग, अछाम साँफेबगर– बाजुरा मार्तडी र बाजुराकै मार्तडी–कोल्टी सडक खण्ड अवरुद्ध भएको हो।
डोटीको जोरायल गाउँपालिका–१ गैरा नजिक भीमदत्त राजमार्ग अवरुद्ध हुँदा सात पहाडी जिल्लाको यातायात सम्पर्क रोकिएको छ । पहिरोले राजमार्ग अवरुद्ध भएपछि अहिले तराईबाट पहाडका लागि अत्यावश्यक सामग्री लिएर गइरहेका दजर्नौं सवारी साधन बीच बाटोमै रोकिएको प्रहरी चौकी गैराले जनाएको छ । अहिले डोजरले पहिरो पन्छाउने काम गरिरहेको छ ।
यस्तै, बझाङमा जयपृथ्वी राजमार्ग अन्तर्गत ढोल्यामोडबाट करिब ५ सय मिटर अगाडि पहिरो खसेकाले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। सडकमा पहिरो खसेपछि खाद्यान्न सामग्री बोकेका सवारीहरु रोकिएका छन् । पानी परिरहेकाले सडक खुलाउन पनि अप्ठेरो भइरहेको प्रहरीले जनाएको छ । वर्षातको समयमा पहिरोका कारण जयपृथ्वी राजमार्ग बेलाबेलामा अवरुद्ध हुने गरेको छ ।
यस्तै, सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा बाजुरा जाने मुख्य राजमार्ग साँफे–मार्तडी सडकखण्ड अवरुद्ध बनेको छ । साँफे–मार्तडी सडकखण्ड अवरुद्ध हुँदा तराईबाट दैनिक उपभोग्यका साम्रगी लगेर गएका सवारी साधन रोकिएका छन् ।
पहिरो गएको दुवैतर्फ डोजर लगाएर अवरोध खुलाउने कार्य भइरहेको छ । तर लगातारको वर्षाका कारण सडक खुलाउन समस्या भइरहेको बाजुराका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले लोकपथलाई बताए । यस्तै जिल्लाकै मार्तडी–कोल्टी सडक शनिबारबाटै अवरुद्ध बनेको छ । सडक अवरुद्ध हुँदा आवत जावतमा समस्या भइरहेको अवरुद्ध भएको प्रशासनले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया