काठमाडौं। रियल मड्रिडका कप्तान तथा प्रमुख रक्षक सर्जियो रामोसले क्लब छाड्ने निश्चित भएको छ।
बिहीवार स्पेनिश क्लब रियल मड्रिडले रामोसको लागि ‘फेयरवेल’ कार्यक्रम आयोजना गर्यो। पछिल्लो १६ वर्ष रियलका लागि जब्बर रक्षक बनेर २२ उपाधि जितेका रामोस क्लबका अपूरणीय पात्र हुन्।
आफ्नो विदाई कार्यक्रममा निकै नै भावुक देखिएका रामोसले सबैलाई धन्यवाद दिँदै भने, “यस क्लबमा पहिलो दिन आउँदा म १९ वर्षीय केटो थिएँ, बुवा र दाइसँग आएको थिएँ, आज मेरो परिवारमा मलाई साथ दिन मेरी पत्नी लगायत मेरा चार बच्चा पनि छन्, यो रियल मड्रिडले मलाई दिएको परिवार हो।”
“आफ्नो परिवारसँग आएको थिएँ, आफ्नो परिवारसँगै जाँदै छु”, उनले थपे। “१६ वर्षसम्म हरेक दुःख सुखमा साथ दिनु भएकोमा सबैलाई धन्यवाद दिन चाहन्छु”, रियलसँग ४ पटक चमियन्स लिग विजेता रामोसका शब्द थिए।
“क्लबका अध्यक्ष, मेरा सम्पूर्ण प्रशिक्षक र साथिहरुलाई मेरो हार्दिक नमन, म आज भावुक छु।” आँखाभरि आँसु बोकेर रामोसले भने। “रियल मड्रिडका सम्पूर्ण समर्थकलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, तपाईं नभएको भए, म हुने थिइन।”
उनले रियलसँग को यो विदाई अन्तिम विदाई नरहेको पनि बताएका छन्। “म गुडबाई होइन, सी यु सुन भन्न चाहन्छु, म एकदिन अवश्य फर्कनेछु”, रामोसले भने।
विश्वकै उत्कृष्ट मध्येका एक डिफेन्डर ३५ वर्षीय सर्जियो रामोस अब कुन क्लब जाने हो भन्ने कुरा थाहा पाउन यस बेला सम्पूर्ण फुटबल प्रेमी उत्सुक देखिएका छन्। तर उनको नयाँ गन्तव्य बारे अहिलेसम्म केही टुङ्गो भने लागेको छैन।
यो पनि: १६ वर्ष र ६७१ खेल पश्चात् रियल मड्रिडका कप्तान सर्जियो रामोसले क्लब छाड्ने पक्का
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया