के गर्दै ? उताबाट म्यासेज आउँछ ।
लेख्दैछु । रिप्लाई जान्छ ।
हुन्छ, लेख्नु न…पछि कुरा गरौँला ।
ओके भन्न नभ्याउँदै पुनः आफ्नै धुनमा लेख्न थाल्छु ।
केपी ओलीको निर्देशन, प्रचण्डको आरोप, देउवाको निर्णय, सिन्धुपाल्चोकमा पहिरो उद्दार टोली जाँदै, सर्वोच्चको फैसला ! यस्तै यस्तै ।
दैनिकी यहि किबोर्ड र स्क्रिननै बन्न थालेको केहि वर्ष मात्र भयो । पहिले दिक्क लाग्थ्यो अहिले मज्जा आउँन थालेको छ ।
अघिल्लो लकडाउन र यो निषेधाज्ञामा मैले सबैभन्दा धेरै समय बिताएको यहि किबोर्डका १०६ ‘की‘, १४ इन्चको स्क्रीन र एउटा हातभरिको मुसोसँगै हो । अब त सपनामा पनि टुसुक्क कुर्सीमा बसेर किट्किट्किट् किबोर्ड हान्दै, स्क्रीनमा हेरेर मुसो यता उता खेलाएको मात्रै देख्न थालेको छु । यहि मेरो (हाम्रो) कामबाट कति मान्छे खुसी भएर फोन पनि गर्छन्, धन्यवाद दिन्छन् । कति बाटोमा भेट्दा आँखा पनि तर्छन् ।
कर्मदेवो भव ! भन्दै किबोर्ड ठोकाइको रफ्तार जीन्दगीकै रफ्तार बनाउँदै चल्दैछ जीन्दगी ।
उमेर त मेरो पनि उही मनोरन्जन गर्ने नै हो । अलि नयाँ लगाएर हिँडेको दिन बाटोमा क-कसले आफूलाई हेर्यो भनेर पल्याकपुलुक हेर्ने उमेर, केहि बन्नैपर्छ भन्ने संकल्प अनि दिनानुदिन थपिँदै जाने पारिवारिक जिम्मेवारीको त्रासले ‘रिमिक्स’ छ जीन्दगी । त्यसमाथि गर्लफ्रेण्ड नभए त सोसाइटीमै परिन्न भन्ने जस्तो भाइसाथीको अघि पनि मर्द बन्नै पर्यो के रे !
हामीलाई सरकारी जागिरले यति धेरै गाँजेको छ कि मानौँ, त्यो बिना जीन्दगी बाँच्नुको अर्थ नै छैन जस्तो सोचिदिन्छ समाज । यता सरकारी कुरा, उता सरकारी कुरा, त्यहि कुरा सुन्दासुन्दै हो मलाई चाँही सरकारी नभइ प्राइभेट जिन्दगी बनाउन मन लागेको । न मज्जाले खुलेर बोल्न पाइन्छ, न खुलेर लेख्न पाइन्छ । मिठो खायो समाजले त्यसको हिसावकिताव खोज्छ, नमिठो खायो नराम्रो लगायो सरकारी जागिरे भएरपनि हेर त्यसको हालत भन्दिन्छ ।
नाम निकाल्न पनि दुख छ । निकालेपछि बाँच्न पनि दुख्खै छ । भत्तासत्ता आउने महिना अलि सहज महसुस गर्ने राष्ट्रसेवक, तलबमात्रै आउने महिनामा सञ्चयकोष, बिमा यता उता कटाउँदा नुन तेल ग्यासमा नै सकिन्छ एक महिनाको दुख । त्यहि भएरै होला श्रीमान सरकारी भए श्रीमती प्राइभेटमा र श्रीमती सरकारीमा भए श्रीमान प्राइभेटमा बन्न खोज्ने । सकेसम्म दुवै सरकारी, नभए एक त जसरी पनि सरकारी !
त्यहि अफ्ठेरोलाई मध्यनजर गर्दै र मेरो प्राइभेट बन्ने सपनालाई साकार पार्न उनले सरकारीमा सपना देखेको । र, तयारी थालेको । त्यहि
सरकारी सपना देख्नेबाट फेरि म्यासेज आउँछ ।
आज कस्तो झ्याउ लाग्यो पढ्नै मन लागेन भन्या ।
फुर्सद भए बोलुम न… !
नाई नाई झन अहिले त ब्रेक्रिङ आको छ ! पछि कुरा गर्छु पनि भन्न नभ्याउँदै म हुन्छु आफ्नै रफ्तारमा ।
बेला बेला लाग्छ, माया पिरतीको कुरा गरेर नथाक्ने त्यो उमेरकी मान्छेलाई बेकार अल्झाएर राखेको छु । अनि फेरि सोचिहाल्छु हामी अरु जस्तो होइन नि । फकाउने बहानामा मैले धेरै यस्तै यस्तै गुलिया कुराहरु गर्ने गरेको छु उनी मख्खै ।
मलाई सकेसम्म सरकारी नै भैदिए हुन्थ्यो भन्ने ती पात्र । र कहिल्यै राजनीतिका कुरा नसुन्ने मान्छे एकदिन त्यहि सरकारकै कुरा सुनेर बहुत खुसी हुँदै भनिन्–अब त हजुर पत्रकार नै बन्नुस् !
किन ? मैले भने
सरकारले बजेट भाषणमा पत्रकारलाई बीमा र सरकारी अस्पतालमा निशुल्क उपचारको व्यवस्था गरेको छ त बुद्दु !
ए ए भन्दै मनमनै सोचे ‘हाम्रो बिहे भयो भने त्यो कुरा कार्यान्वयनमा आउँदा सायद नाती पनि जन्मिसकेको हुन्छ होला ।’
म र म जस्ता युवाहरुलाई सरकारी घोषणाको पत्यार लागे पो त त्यस्ता कुरा सम्झिनु । न्यूज त लेख्या हो नि हेडलाइन मिठास बनाई बनाई ।
तै पनि सरकारी नै बन्दिए हुन्थ्यो भन्ने गुनासो सुन्नुभन्दा अब त हामी पनि सरकारी भन्दा कम हुँदैनौँ, पछि पेन्सनको पनि कुरा छ भन्दै मख्ख बनाउँदै । आफू पनि मख्ख बने ।
आफ्नै धुनमा लेख्दै थिँए म्यासेज आयो
खाजा खाइयो त ?
उम्म्म्म्म..
फेरि म्यासेज आयो
घरमा हाम्रो बारेमा कुरा भएछ आज
ए ए
कति उम्म्म्म र ए ए मात्र हो ? यस्सो बोलुम भन्दा पनि फुर्सदै नहुने के हजुरलाई त, के के न नभको जागिर भो म आउँदिन कहिल्यै पनि बाइ फरइभर ! के के भकारी म्यासेज सहित मान्छे केहिबेर गायब हुन्छ ।
लगभग मेरो काम अलि होलो हुनेबेला राति ८ बजेतिर फेरि म्यासेज आउँछ ।
खाना खाँए है !
म : एक्कैछिन है काम सकिहाल्छु । रिप्लाई जान्छ ।
उत्तर आउँछ– हस !
त्यो हस यसरी बज्रिन्छ कि मेरो कानमा, काम ‘सकिहाल्छु’ भन्ने शब्दमा नै झुट झुट झल्किन थालेको छ उनलाई आजभोलि ।
८ः३० हुन्छ फेरि म्यासेज आउँछ,
अब कतिबेर ?
ओखो १५ मिनेट जति
ल ल
फेरि १५ मिनेटपछि १५ मिनेट अर्थात ९ बजेसम्मको समय माग गर्छु ।
अन्तिम पटक मागको सुनुवाई हुन्छ । म कुरेर बसेको छु है ।
हस के हस ! यताबाट भन्छु ।
किट्किट्किट्किट् किबोर्ड हान्दा हान्दै उताको प्रतिक्षाको समय सकिसक्छ आफ्नो यता दायाँबायाँ ह्रस्वदीर्घ हेडलाईन, क्याटेगोरी, फोटो, कति कतिमा त हाइपर लिंक मिलाउँदैमा म कहाँ छु नै भुल्छु ।
टिङ्रिङ्ग ९ को अंकमा घडीले टेक्ने बित्तिकै गह्रौ गरि म्यासेज आउँछ ।
९ बज्यो है ।
हस
‘हिहि’ उताबाट खुसी बर्सिन्छ
ओके
काम नभ्याइए बरु भ्याइएन भने भो त कति कुराएको के ?
रिसले चुर भएर म्यासेज आउँछ ।
लेख्दा लेख्दै फकाउनै पर्यो ।
अनि भन्छु : ‘जीन्दगीभरसँगै हिँड्ने मान्छेलाई यतिबेर कुर्दा खुब गाहे भयो होईन ‘खुप‘ मुख कुच्याएको इमोजिसहित कुराहरु जान्छ ।’
लामो गरि उत्तर आउँछ ‘खुपै’ !
वार्तालाप शुरु हुन्छ
सुन्नु न
हजुर
आज कस्तो भयो नि
के भयो र ?
के के फेहरिस्त आउँछ
यताबाट गएको ‘है’ मात्रै उत्तरले
मान्छे रिसको पारो १२० मा पुगेर
बाई भन्दै मान्छे अफ पनि हुँदैनन् अन पनि हुँदैनन् ।
यस्तै यस्तै ।
केहि दिन अघिको कुरा हो । बेलुका ८ः३० तिर काम सकेँ ।
ज्यानमा खास उर्जा पनि थिएन । लगभग काम सकेर धेरै दिनको गुनासो मेट्नका लागि दुवैतिरबाट खाना खाइवरी गफिँदै थियौँ, कलेजका कुरा, भविष्यका कुरा, यता उता, दिमाग पनि फ्रेस हुँदै थियो । प्रस्ताव थियो आज त धेरै बोल्नुपर्छ है भन्ने ।
म पनि आज बोल्ने मुडमै थिए ।
ओके भनेर कुरा गहिरिँदै थियो
ला !
त्यहि बेला सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा पहिरो, ७ जना बेपत्ता ब्रेकिङ भन्दै न्यूज म्यासेन्जरमा ट्याङ्ङ ‘नोटिफिकेसन’ आयो ।
के भनौँ न कसो भनौँ ।
एकछिन त घटना सामान्य होला भनेर अरु तिर पनि हेरेको त पुरै डुबान नै भैसकेछ । म बोल्ने कुरा भुलेर
धेरैबेर हराएपछि म्यासेज आयो
बिजि ?
हल्का काम पर्ला जस्तो छ । उत्तर जान नभ्याउँदै हजुरको खाली यस्तै यस्तै के ! फलानी तिलानी कति बोल्छ…काम सकेर कति टाइम दिन्छन्…। हाम्रो चाँही त्यहि काम खाली काम….म्यासेज के के आउँदै थियो ।
म यता सिन्धुपाल्चोतिर लागें । सबै विवरण सम्भव भएसम्म पठाएर जुरुक्क उठ्दा घडीले राति १२ हान्न लागिसकेको रहेछ ।
झस्याङ्ङ सम्झिएँ
यसो म्यासेन्जरमा हेरेको त ‘थ्री आवर्स अगो’ भैसकेको रहेछ । तीन चार पाना म्यासेज पढेँ आफैलाई दिक्क लाग्यो र टाइम दिन नसकेकोमा पश्चाताप पनि ।
सबै म्यासेजलाई सरररर… पढ्दै
एउटै म्यासेज लेखेँ ‘सुतिसकेको?’
रिप्लाई आउँदैन् भन्ने कुरा थाहै थियो ।
दुईतीन मिनेट यसो फेसबुक स्क्रोल गरेर हेरेँ
आँखाले घुम ओड्न लाग्यो
अनि मोबाइल फालेर सुतेँ ।
अनि
एकैपटक
भोलिपल्ट
त्यसपछि…
भोलिभोलि लेखौँला !!
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया