काठमाडौं । जारी कोपा अमेरिका २०२१ अन्तर्गत शनिवार बिहान भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १-० गोल अन्तरले पराजित गरेको छ।
ब्राजिलको राजधानी ‘ब्राजिलिया’मा भएको दक्षिणी समुहको खेलमा अर्जेन्टिनाले पहिलो हाफको १२औं मिनेटमा नै गोल गर्न सफल भएको थियो। कप्तान लियोनल मेस्सीको शानदार क्रसमा मिडफिल्डर गुविडो रोड्रिगेजले हेडर गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए।
अर्जेन्टिनाले प्राप्त गरेको कर्नरमा डे पलले मेस्सीलाई पास दिंदा उनले एक प्रतिद्वन्द्वीलाई सुन्दर तरिकाले बिट गर्दै शानदार क्रस निकालेका थिए। रोड्रिगेजको पहिलो हाफको गोल नै खेलमा निर्णायक बन्न पुग्दा अर्जेन्टिना विजयी भएको हो।
उरुग्वेका स्टार खेलाडी एवम् स्ट्राइकरद्वय लुइस सुवारेज र एडिनसन काभानी पुरै खेल शान्त देखिए। यसरी सर्वाधिक कोपा अमेरिका विजेता उरुग्वेले यस संस्करणको कोपा अमेरिकाको शुरुवात पराजयबाट गरेको छ। उता दुई खेलमा १ जित र १ बराबरीको नतिजा निकालेको अर्जेन्टिना दक्षिणी समुहको शीर्ष स्थानमा रहेको छ।
त्यस्तै शनिवार बिहान भएको पहिलो खेलमा चिलेले बोलिभियालाई १-० गोलले पराजित गरेको छ। चिलेका लागि बेन बेरेटनले गरेको गोल नै निर्णायक बन्न पुग्दा खेल चिलेको पक्षमा गएको हो।
यो पनि : अर्जेन्टिनाविरुद्ध उरुग्वे : असल मित्र मेस्सी र सुवारेज जब बन्नेछन् प्रतिद्वन्दी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया