काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले तातोपानी-कोदारी क्षेत्रमा बाढी कटानबाट भइरहेको क्षति न्यूनिकरण एवं जोखिममा परेका स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने विषयमा छलफल गरेका छन् ।
आज सभामुख सापकोटाले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङसँग त्यसबारे छलफल गर्दै अरनिको राजमार्ग र लिपिङ पुलमा पुर्याएको क्षतिबारे सरकारको ध्यानकर्षण गराएका हुन् ।
गएरातिको अविरल बर्षाले सिन्धुपाल्चोकको भोटेकेशी गाउँपालिकास्थित तातोपानी–कोदारी क्षेत्रमा अरनिको राजमार्ग र लिपिङ पुलमा क्षति पुर्याएपछि सभामुख सापकोटाले यस विषयमा मन्त्री नेम्वाङमार्फत सरकारको ध्यानाकर्षण गराएको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
त्यस्तै सभामुख सापकोटाले जोखिममा परेका स्थानीयको उद्धार, सुरक्षित बसोबास एवं बन्द सडक तत्काल सञ्चालनमा ल्याउन ध्यानाकर्षण गराएका छन् ।
सभामुख सापकोटा र मन्त्री नेम्वाङबीचको सम्वादपछि आजै सडक विभागका महानिर्देशक अर्जुनजंग थापासहितको टोलीले कटान क्षेत्रको स्थलगत अवलोकन गरेको छ ।
महानिर्देशक थापाले केही दिनभित्रै बन्द सडक सुचारु गरिने जानकारी दिए। भोटेकोशीको कटानले लिपिङ पुलमा क्षति पुगेको र अरनिको राजमार्ग अन्तरगतको सडक ठाउँ ठाउँमा भासिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया